इरानी गार्डद्वारा अमेरिकी फिर्तीको स्वागत

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ ।

रिभोलुसनरी गाड्र्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ । गाड्र्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक गरेको हो ।

इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्न सन् २०१४ मा इराक र सिरियामा तैनाथ गरिएको अमेरिकी नेतृत्वको गठबन्धनले बुधबार आफ्नो सैन्य अभियान औपचारिक रूपमा सम्पन्न गर्दै इराकबाट फिर्ती भएको थियो । आइएसले कुनै समय दुवै देशको ठूलो भूभाग कब्जा गरेको थियो । इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आइएस पराजित भए पनि गठबन्धन सेनाले त्यसका बाँकी समूहविरुद्ध कारबाही जारी राखेको थियो ।

रिभोलुसनरी गाड्र्सले अमेरिकी सेनाको उपस्थितिले क्षेत्रीय सुरक्षा सुनिश्चित नगरेको दाबी गर्दै अमेरिकाले पश्चिम एसिया छाडेर सुरक्षा व्यवस्थापन सम्बन्धित राष्ट्रलाई नै सुम्पिनुपर्ने बताएको छ । दुई दशक लामो अमेरिकी उपस्थितिले क्षेत्रीय असुरक्षा, आतङ्कवाद र अस्थिरता बढाएको उसको आरोप छ ।

इराक र अमेरिकाले सन् २०२४ मा गठबन्धनको मिसन अन्त्य गर्ने सहमति गरेका थिए । त्यसपछि गठबन्धनमा आबद्ध सेना इराकभरका आफ्ना आधारबाट क्रमशः फिर्ता हुँदै आएका थिए । पछिल्लो समय उनीहरूको उपस्थिति इराकको स्वायत्त उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित थियो ।

इराकी सरकारले गठबन्धन सेनाको फिर्तीपछि इरान समर्थित शक्तिशाली सशस्त्र समूहले हतियार कायम राख्न प्रयोग गर्दै आएको एउटा प्रमुख बहाना हटेको बताएको छ ।

यसैबीच इराकी प्रधानमन्त्री अली अल–जैदीले बिहीबार सशस्त्र समूहलाई आफ्ना हतियार राज्यलाई हस्तान्तरण गर्न जुन ३० सम्मको नयाँ समयसीमा घोषणा गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्