अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाउनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्नुभएको छ । उहाँले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै आक्रमणकारी सम्भावित आतङ्कवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गर्नुभएको छ ।
फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।
ट्रम्पले गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल हुनुभएको र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । एक इजरायली यात्रुले उडानको कुनै अनुभव नभए पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गर्नुभएको थियो ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले यात्रु यानिव हयुनलाई ‘साँचो नायक’ भन्दै उहाँको साहसको प्रशंसा गर्नुभएको छ । घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु तथा चालक दलका सदस्यको संयुक्त प्रयास महत्त्वपूर्ण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले पनि उहाँलगायत अन्य यात्रुको प्रयासले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताउनुभएको छ ।
क्याप्टेन मच्छरसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उड्डयन अनुभव र बोइङ–७३७ विमानमा करिब नौ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ । उहाँले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्समा ११ वर्ष काम गर्नुभएको थियो ।
घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ ।

