मोदीद्वारा भारतीय पाइलटको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि सङ्घर्ष गर्दा घाइते हुनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गर्नुभएको छ । उहाँले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि अरूको ज्यान जोगाउन उहाँले देखाउनुभएको साहस र दृढताको प्रशंसा गर्नुभएको हो ।

फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ । सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए । विमानमा सह–पाइलटसँगको सङ्घर्षका क्रममा क्याप्टेन मच्छर घाइते हुनुभएको थियो ।

मोदीले सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र अटुट सङ्कल्पका साथ अरूको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । उहाँको वीरताले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन सहयोग पुगेको उल्लेख गर्दै मोदीले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको असाधारण बहादुरीको प्रशंसा गर्नुभएको थियो । घाइते अवस्थामा पनि उहाँले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न सङ्घर्ष गर्नुभएको नेतान्याहुले बताउनुभएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुनुहुन्छ । उहाँका अभिभावक उपचाररत उहाँलाई भेट्न साउदी अरेबिया पुग्नुभएको बताइएको छ । मच्छरसँग बोइङ–७३७ विमानमा १३ वर्षभन्दा बढीको व्यावसायिक उडान अनुभव रहेको र सन् २०२२ देखि फ्लाईदुबईका लागि उडान गर्दै आउनुभएको उहाँको लिङ्क्डइन विवरणमा उल्लेख छ । उहाँले यसअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा पनि काम गर्नुभएको थियो ।

क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताउनुभएको थियो । परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उहाँले बताउनुभएको थियो । पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उहाँले उडान क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताउनुभएको थियो । “तनावले कम्तीमा यस उद्योगमा मद्दत गर्ने छैन”, उहाँले भन्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्