कास्पारोभको जीवन खतरामा रहेको चेतावनी

क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताउनुभएको छ ।

कास्पारोभले आफू र फ्रि रसिया फोरमका सहसंस्थापक त्युट्रिन हत्या गर्ने लक्ष्यको सूचीमा रहेको समाचार स्तब्ध पार्ने भए पनि आफूलाई आश्चर्य नलागेको बताउनुभयो । उहाँले सुरक्षा निकायको चेतावनीपछि आवश्यक सावधानी अपनाएको र त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँको भनाइ अमेरिकी न्याय मन्त्रालयले सेप्टेम्बरको मध्यमा संयुक्त राज्य अमेरिकासहित विभिन्न मुलुकमा आक्रमण तथा हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा रुसी गुप्तचर निकायका पाँच कथित एजेन्टविरुद्ध अभियोग लगाएपछि आएको हो । विभागका अनुसार ती समूहले अमेरिकामा बसोबास गर्ने एक प्रमुख रुसी असन्तुष्टको हत्या गर्ने प्रयास गरेका थिए । ती व्यक्तिलाई ‘भिक्टिम–१’ का रूपमा पहिचान गरिएको छ ।

स्पेनको अखबार ‘एल मुन्डो’ ले कास्पारोभका निकट स्रोतलाई उद्धृत गर्दै रुसी एजेन्टहरूले उहाँ र पूर्वरुसी सांसद इल्या पोनोमारोभको हत्या गर्ने षड्यन्त्र गरेको जनाएको थियो । कास्पारोभले भने आफू र त्युट्रिन नै अभियोगमा उल्लेख गरिएका सम्भावित लक्ष्य हुन् भन्ने कुरा आफूहरूलाई स्पष्ट रूपमा नबताइएको बताउनुभएको छ ।

सन् २०१६ मा कास्पारोभ र त्युट्रिनले फ्रि रसिया फोरम स्थापना गर्नुभएको थियो । रुसी सरकारले सन् २०२३ मा उक्त संस्थालाई ‘अवाञ्छनीय सङ्गठन’ घोषणा गरेको थियो भने सन् २०२५ मा ‘आतङ्कवादी’ सङ्गठनको सूचीमा राखेको थियो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार रुसी एजेन्टहरूले लिथुआनियामा पनि ‘भिक्टिम–२’ को हत्या गर्ने प्रयास गरेका थिए । एक अमेरिकी नागरिकलाई हत्या गरेबापत पाँच हजार डलर दिने प्रस्ताव गरिएको र पेट्रोलको बोतल वा छुरी प्रयोग गर्न सुझाइएको मन्त्रालयले जनाएको छ।

भिल्नियसमा निर्वासनमा बस्दै आएका त्युट्रिनले आफू नै ‘भिक्टिम–२’ हो कि होइन भन्ने थाहा नभएको बताउनुभएको छ । तर अमेरिकी अधिकारीहरूले षड्यन्त्रबारे जानकारी सार्वजनिक गरेपछि लिथुआनियाली पक्षले आफूलाई तत्काल घर छाड्न र गाडी हटाउन चेतावनी दिएको उहाँले एएफपीलाई बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्