बाँके, १५ असोजः वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।
सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिद्वारा नेपालगञ्जमा आयोजित सुझाव सङ्कलन तथा अन्तरक्रियामा सहभागी कानुन व्यवसायीले उक्त सुझाव दिनुभएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्दा विगतका मापदण्ड र अभ्यासमा देखिएका समस्या तथा गुनासोलाई सम्बोधन गर्ने गरी स्पष्ट, वस्तुनिष्ठ र व्यावसायिक मापदण्ड तय गर्नका लागी सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।
उहाँले कानुन व्यवसायीको व्यावसायिक योगदान, दक्षता, आचरण, मूल्य–मान्यता र न्याय क्षेत्रमा पु¥याएको योगदानका आधारमा उपाधि प्रदान गर्ने उद्देश्यले जिल्लागत रूपमा कानुन व्यवसायीबाट प्रत्यक्ष सुझाव सङ्कलन गरिएको उल्लेख गर्नुभयो ।
अधिवक्ता वसन्त गौतमले व्यावसायिक मूल्यमान्यता कायम राख्दै गुणस्तरीय कानुनी सेवा प्रदान गर्न सक्ने, पदीय गरिमा जोगाउने र वकालतका साथै कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रमा विशिष्ट अनुभव भएका कानुन व्यवसायीलाई पनि वरिष्ठ अधिवक्ताको प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ, बार काउन्सिलका पार्षद अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, उच्च बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठलगायतले वरिष्ठ अधिवक्ताको चयन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र थप परिष्कृत बनाउनुपर्ने सुझाव दिनुभएको थियो । उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

