तुलसीपुर (दाङ), १५ असोजः दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ ।
विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ । यसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो । विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई २०० शय्याको बनाउने तयारी भइरहेको कुलसचिव कट्टेलले जानकारी दिनुभयो ।
यसअघि लुम्बिनी प्रदेश सरकारले २०० शय्याको अस्पताल निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले अस्पताललाई २०० शय्याको बनाउने गरी प्रशासनिक तथा राजनीतिक तहमा पहल भइरहेको उहाँले बताउनुभयो ।
आयुर्वेद अध्ययन संस्थानको जनशक्ति, भौतिक संरचना र आर्थिक अवस्थासहितको विस्तृत प्रतिवेदन प्राप्त भएकाले त्यसको अध्ययन गरी प्राथमिकताका आधारमा काम अघि बढाइने उहाँले बताउनुभयो ।
विश्वविद्यालयले आयुर्वेद कलेज तथा ओपिडीका लागि आवश्यक उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

