त्रिवेणी (रुकुम पश्चिम), १४ असोजः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले आज एक कार्यक्रमबीच पुलको उद्घाटन गर्नुभयो । पुल निर्माणका लागि २०८२ साल असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साल असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले यही असोज ८ गते सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीले जानकारी दिनुभयो ।
पुल निर्माणको कुल लागत रु आठ करोड ६९ लाख २७ हजार ९२४ रहेको छ । पुल निर्माणको जिम्मा ज्वालामुखी–हिमशिखर हिरा जेभी, काठमाडौँ–१०, नयाँबानेश्वरले लिएको थियो ।
समय अगावै पुल निर्माण सम्पन्न गरेकामा मन्त्री रोकाले निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो । उहाँले विकास निर्माणका आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
मन्त्री रोकाले काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नेसम्मको प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा १९ वटा आयोजना रुग्ण छन् । तीमध्ये रुकुम पश्चिमको छेडावगर पक्की पुल पनि एक हो ।
मन्त्रालयका सचिव अर्जुनकुमार बमले समयभन्दा अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद दिँदै लामो समयदेखि अलपत्र रहेका आयोजनालाई गति दिन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।
तिल्चाखोला पुल निर्माण सम्पन्न भएपछि बाँफिकोट गाउँपालिका–३ र ४ का बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

