अभिभावक गुमाएका बालबालिकालाई आवासीय शिक्षा

मकवानपुर, १५ असोजः भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ ।

विनाशकारी बाढीबाट अभिभावकविहीन बनेका बालबालिकालाई सुरक्षित आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय कार्यान्वयनका लागि आवश्यक कार्यविधि संशोधन र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।

मन्त्री पौडेलका अनुसार मन्त्रालयले आवासीय शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिमा आवश्यक रायसहित सहमति दिएको छ । विपद्बाट प्रभावित बालबालिकाको वास्तविक अवस्था र आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यविधिलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सुझाव दिइएको उहाँले बताउनुभयो ।

प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढी तथा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो ।

बाढीका कारण बालबालिकाको पढाइ प्रभावित नहोस् र उनीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत विद्यालय भर्ना र पढाइसँगै आवास, खानपान, स्वास्थ्य, सुरक्षा, संरक्षण, मनोसामाजिक सहयोग तथा निरन्तर हेरचाहको व्यवस्था गरिनेछ ।

प्रदेश सरकारले बाढीपछि अभिभावकविहीन बनेका बालबालिकाको विवरण सङ्कलन गरिरहेको जनाएको छ । बाढीबाट घरबार तथा विद्यालय पनि प्रभावित भएका बालबालिकाको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रदेशको शिक्षा विकास निर्देशनालयले ‘सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम व्यवस्थापन कार्यविधि, २०८३’ सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्