झापा, १५ असोजः मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो । चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि नै मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि पटकपटक पत्राचार गरिएको भए पनि बेवास्ता गरेकाले कारबाही गर्नुपरेको हो ।”
त्यसैगरी, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला (ल्याब) र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधि फेला परेपछि जफत गरिएको छ ।
यस्तै, रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएको छ । ती औषधि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “कानुन विपरीत सञ्चालन भएका यी स्वास्थ्य संस्थालाई स्थानीय पालिकाले जरिवाना गराउनेछ र फार्मेसी सञ्चालकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइनेछ ।”
स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार विधिवत् रूपमा दर्ता गरेपछि मात्र सिलबन्दी खोलिने उहाँको भनाइ छ ।

