मुटुरोगीलाई डायलासिस सेवा

वालिङ (स्याङ्जा), १४ असोजः स्याङ्जाको वालिङमा रहेको वालिङ सामुदायिक डायलासिस सेन्टरबाट ६६ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिएका छन् ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलद्वारा वालिङ–१० फूलबारीमा सञ्चालित वालिङ डायलासिस सेन्टरमा मिर्गौलासम्बन्धीका बिरामीले सेवा लिँदै आएका हुन् । पाँच वर्षअघि स्थापना भएको डायलासिस सेन्टरबाट स्याङ्जाको वालिङ नगरपालिका, भीरकोट नगरपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित पाल्पा र पर्वतका गरी ६६ बिरामीले अहिले नियमित डायलासिस सेवा लिँदै आएका वालिङ सामुदायिक डायलासिस सेन्टर वालिङका व्यवस्थापक ईन्दिरा श्रेष्ठले बताउनुभयो ।

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै स्याङ्जाका–५ नगरपालिका तथा गाउँपालिकासहित पाल्पा र पर्वतका केही भेगका मिर्गौलासम्बन्धी बिरामीले निःशुल्क सेवा लिँदै आएका छन् ।

“डायलासिस सेन्टरमा दैनिक दुई ‘सिफ्ट’मा २२ जना बिरामीको मिर्गौलाको डायलासिस हुँदै आएको छ”, उहाँले भन्नुभयो, “एक पटकमा ११ वटा मेसिनबाट ११ जना बिरामीको मिर्गौलाको डायलासिस हुने गरेको छ, दैनिक दुई सिफ्टमा बिरामीहरुको डायलासिस गर्छौं ।”

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै मिर्गौलाका बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेर गएको छ । आफ्नै ठाउँ वा नजिकै डायलासिस सेन्टरले सेवा दिएसँगै बिरामीलाई सहज भएको छ ।

डायलासिस सेन्टरमा २० देखि ५९ वर्षका ४० जना, ६० देखि ६९ वर्षका १७ जना र ७० भन्दामाथिका नौ जना मिर्गौलाका बिरामी रहेको सेन्टरका मेडिकल अफिसर डा रविकुमार दासले जानकारी दिनुभयो ।

“खानपान, आनीबानी र दैनिक व्यवहारबाट मिर्गौलासम्बन्धी रोग देखिने गरेका छन्”, उहाँले भन्नुभयो, “आवश्यकमात्रामा पानी पिउने, खानपानमा विशेष ध्यान दिने, समय समयमा मिर्गौलाको परीक्षण गर्ने र चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।”

डायलासिस सेन्टरबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क रुपमा उपलब्ध छ । डायलासिस सेन्टर सञ्चालन आएसँगै हालसम्म १०० भन्दाबढीले सेवा लिइसकेका छन् । डायलासिस सेन्टरमा शुद्ध र सफा पानी, नियमित विद्युत् सेवा, दक्ष र पर्याप्त जनशक्तिको अभाव छ ।

“रोगले सानोठूलो चिन्दैन, जुनसुकै उमेर समूहमा पनि पछिल्लो समय मिर्गौलासम्बन्धी रोग देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिनकालागि पूर्वसचेतना अपनाउनु बुद्धिमानी हुनेछ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्