एसियाली खेलकुदः तेन्जिङ शेर्पा, जसले नेपालको विरासत जोगाए

काठमाडौँ, १४ असोजः जापानमा जारी बिसौँ एसियाली खेलकुदमा नेपालको पदक यात्रा अपेक्षाअनुसार अघि बढ्न सकेन । यस संस्करणमा नेपालबाट १३५ खेलाडी सहभागी भए पनि प्रतियोगिता सकिनै लाग्दा नेपालले दुई पदकमा आफ्नो यात्रा सीमित गरेको छ ।

नेपालले कराते र महिला कबड्डीमा पदक हात पारेको हो । तीमध्ये करातेबाट प्राप्त पदकले नेपाली खेलकुदमा एउटा पुरानो विरासतलाई निरन्तरता दिएको छ । त्यो विरासत जोगाउने खेलाडी बन्नुभएको छ तेन्जिङ शेर्पा ।

उहाँले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै जारी एसियाली खेलकुदमा नेपालको पदकको खाता खोल्नुभयो । सेमिफाइनलमा इरानका मोहम्मद नेमातीसँग ५–० ले पराजित भएपछि उहाँले स्वर्ण पदकको दौडबाट बाहिरिनुभयो । त्यसपछि कास्य पदकका लागि भएको प्रतिस्पर्धामा उहाँले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्नुभयो ।

त्यो जित पदकमा मात्र सीमित रहेन । तेन्जिङको सफलतासँगै एसियाली खेलकुदमा करातेबाट नेपालले पदक जित्ने परम्पराले निरन्तरता पायो । उहाँ एसियाली खेलकुदमा करातेबाट नेपाललाई पदक दिलाउने पाँचौँ खेलाडी बन्नुभयो । ।

यसअघि सीता राई, समरबहादुर गोले, विमला तामाङ र एरिका गुरुङले एसियाली खेलकुदमा करातेबाट नेपालका लागि पदक प्राप्त गर्नुभएको थियो । गत संस्करणमा पनि करातेबाट नेपालले पदक जितेको थियो । यसपटक तेन्जिङले त्यो यात्रालाई निरन्तरता दिनुभयो ।

नेपालले यसपटक स्वर्णसहित कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको थियो । तर प्रतियोगिता अन्त्यतिर पुग्दा दुई पदकमा सीमित हुनुपरेपछि नेपाली खेलकुदको अपेक्षा पूरा हुन सकेन । यद्यपि, तेन्जिङको कास्य पदक नेपाली टोलीका लागि महत्वपूर्ण उपलब्धि बन्यो ।

प्रतियोगिताअघि नेपाली खेलकुदमा तेन्जिङको नाम अहिलेको जति चर्चामा थिएन । जापानमा गरेको प्रदर्शनपछि उहाँको चर्चा एकाएक बढेको छ । एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जित्दै उहाँले आफूलाई मात्र स्थापित गरेका छैनन्, नेपाली करातेको सम्भावनालाई पनि पुनः चर्चामा ल्याउनुभएको छ ।

तेन्जिङ पदक जितेपछि प्राप्त प्रशंसालाई आगामी यात्राका लागि प्रेरणाका रूपमा लिन्छन् । आफूले गरेको मिहिनेतको परिणामका रूपमा आएको सफलताले अझ राम्रो प्रदर्शन गर्न हौसला मिलेको उहाँको भनाइ छ । उच्च आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्दा आफूलाई सफलता मिलेको तेन्जिङ बताउँछन् ।

“मलाई भित्रैदेखि म पनि केही गरेर देखाउँछु भन्ने थियो । त्यसैले खेलको अन्तिमसम्म आफ्नो सर्वोत्कृष्ट दिएर पदक ल्याउन सफल भएँ,” स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

तेन्जिङले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेरेका छैनन् । देश विनाशकारी भोटेकोशी बाढीको चपेटामा परेको अवस्थामा आफूले जितेको पदकले नेपालीलाई केही खुसी दिन सक्ने उहाँको विश्वास छ ।

“नेपालमा बाढीपहिरोका कारण सबै निराश हुनुहुन्छ । यस्तो बेला मेरो यो पदकले देशवासीलाई अलिकति भए पनि खुसी दिन सक्यो भन्ने आशा छ,” उहाँले भन्नुभयो ।

तेन्जिङका लागि एसियाली खेलकुदमा पदकसम्मको यात्रा लोभलाग्दो छ । यही वर्षको जुलाईमा बङ्गलादेशमा आयोजना भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उहाँले व्यक्तिगत र टिम फाइट दुवैमा स्वर्ण पदक जित्नुभएको थियो । त्यस सफलताले एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुअघि तेन्जिङको आत्मविश्वास बढाएको थियो ।

बङ्गलादेशमा देखाएको प्रदर्शनलाई जापानको एसियाली खेलकुदमा पनि निरन्तरता दिँदै उहाँले आफ्नो तयारी र मेहनतलाई पदकमा परिणत गर्नुभयो । यद्यपि तेन्जिङ यही उपलब्धिमा रोकिने योजनामा छैनन् ।

“यो सफलता मेरो यात्राको सुरुआत मात्र हो । एउटा मेडल ल्याएँ भनेर रोकिने छैन । अझै धेरै खेलहरू बाँकी छन् । अझै धेरै गर्न बाँकी छ,” उहाँले भन्नुभयो । तेन्जिङ घरेलु प्रतियोगितामा नेपाल एपिएफ क्लबबाट खेल्छन् । उनी पछिल्लो चार वर्षदेखि एपिएफ क्लबमा आबद्ध छन् । राष्ट्रिय टोलीमा आएपछि भने उहाँको प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक कुशल श्रेष्ठले सम्हाल्दै आएका छन् ।

प्रशिक्षक श्रेष्ठ तेन्जिङसहित नेपाली खेलाडीको यसपटकको प्रदर्शनलाई उपलब्धिका रूपमा हेर्छन् । करातेको बलियो टोलीका रूपमा रहेको जापानमा एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुग्नु आफैँमा महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ । “विश्वस्तरीय करातेका लागि चिनिएको जापानमा आयोजित एसियाडमा नेपाली खेलाडीले अन्तिम चारसम्मको यात्रा तय गर्नु आफैँमा ठूलो उपलब्धि हो,” श्रेष्ठले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्