काठमाडौँ, १४ असोजः प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिँदै सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको झोलुङ्गे पुलमा मङ्गलबार रातिको बाढीले क्षति पुर्याएको भन्दै छिटो बनाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।
सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि पहिरो र नदी कटानले मुस्ताङ्का पूर्वाधारमा गम्भीर क्षति पुगेको र कृषि पूर्वाधारमा पनि गम्भीर समस्या देखा परेको बताउनुभयो । उहाँले लोमन्थाङ, थासाङ, बाराह मुक्ति क्षेत्र गाउँपालिकामा बाढी पहिरोले बढी क्षति पुर्याएको जानकारी दिनुभयो ।
सांसद आरेन राईले मनाङमा गएको हिउँ पहिरोमा खोटाङका चार जना हराइरहेको जानकरी दिँदै तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिपुरेश्वरमा आगलागी गरी निधन भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै कुराकानी नगरेको भन्दै तत्काल संवाद गर्न माग गर्नुभयो ।
सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सरकारको ध्यान पुग्न नसकेको भन्दै निकुञ्ज नजिकका मानिसले दुःख पाउने अवस्थाको अन्त्य गर्नुपर्ने माग गर्नुभयोे ।
सांसद कमल सुवेदीले दाङका धेरै मानिस वैदेशिक रोजगारीमा गएका बेला निधन भई शव विदेशमै रहेको जानकारी दिँदै एकिन्द्र ओलीको दक्षिण कोरिया एवं वीरेन्द्र चौधरी र कमला विकको भारतमा निधन भएकाले शव ल्याउन माग गर्नुभयो । नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देशमा पुगे पनि तिनको सुरक्षाको व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सृजना श्रेष्ठले धरानका ५६ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव भएको भन्दै सो विषयमा साना विद्यार्थीले धर्ना दिएर बसेकाले समस्या समाधानको माग गर्नुभयो ।
सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाको विरोध गर्नुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

