काठमाडौँ, २७ कात्तिकः राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ ।
कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ ।
आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ ।
प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताउनुभयो ।
कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।
गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थासम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ ।
तथ्याङ्क प्रविष्टि तथा प्रशोधनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासमा हुने लगानीले सिर्जना गर्ने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।