सर्लाही, १८ कात्तिक । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।
लालबन्दी निवासी तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेको र सोही रकम लिने क्रममा पक्राउ परेको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
पक्राउ परेका कर्मचारीमाथि अख्तियारले आवश्यक अनुसन्धान अघि बढाएको छ।









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।