सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

पर्यटन

बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

बागमती, २० कात्तिकः हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले साइकल यात्राको माध्यमद्वारा मकवानपुरगढी गाउँपालिका– ८ स्थित पर्यटकीय गन्तव्य बुढीचौरको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न लागेको छ ।

पछिल्ला वर्षमा प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं साहसिक पर्यटनका दृष्टिले आन्तरिक पर्यटकको रोजाइमा परिहेको बुढीचौरको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने उद्देश्यसहित आगामी मङ्सिर ५ गते शनिबारदेखि प्रवर्द्धनात्मक साइकल यात्रा गर्न लागिएको हो ।

दोस्रो हिमालय पर्यटन प्रवर्द्धन राइड २०८३ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत मकवानपुर र बारा जिल्लाका करिब १५० जना साइकल यात्री सहभागी बन्ने सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरबाट सुरु हुने साइकल यात्रा कान्ति लोकपथ, चौहडा, शिखर कटेरी, गैरी भञ्ज्याङ, कुर्ले, सुकौरा हुँँदै बुढीचौर पुग्ने छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको बुढीचौर क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसार र प्रवर्द्धन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै अध्यक्ष थापाले पछिल्ला समयमा प्रकृतिप्रेमीसँगै साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा यो गन्तव्य पर्न लागेको जानकारी दिनुभयो ।

हेटौँडा बजारको व्यस्तताबाट मुक्त हुँदै करिब २५ किलोमिटरको दूरीमा रहेको यस गन्तव्यबाट देखिने मनोरम पहाडी भूदृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको उहाँले बताउनुभयो ।

यहाँस्थित ऋषेश्वर गुफा सहितका धार्मिक महत्वका स्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको अध्यक्ष थापाले बताउनुभयो । स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आएको सोसाइटीले साइक्लिङका माध्यमबाट मकवानपुरसहित देशका विभिन्न स्थानका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिरहेको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि