अन्ताल्या (टर्किए), २६ कात्तिकः जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।
राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन वर्तमानको गम्भीर चुनौती बनिसकेको उल्लेख गर्दै अन्तरराष्ट्रिय सहकार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी बढाउन तथा जलवायु सङ्कटको जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्ने बताउनुभयो । अन्तरराष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उहाँले उल्लेख गर्नुभयो ।
कोप–३१ मा राष्ट्रिय जलवायु लक्ष्यलाई कार्यान्वयनमा लैजाने, सबै अर्थतन्त्रको विद्युतीकरण गर्ने, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताउनुभयो । उहाँले सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको उल्लेख गर्दै नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धिले जलवायु सङ्कटको गम्भीरता देखाएको बताउनुभयो ।
उहाँले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्ने, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्ने र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्य लिएको पनि उहाँले जानकारी दिनुभयो ।
कोप–३१ का वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्व र जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताउनुभयो । उहाँले तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र यो जीवाश्म इन्धनमा भएको लगानीको दोब्बर रहेको जानकारी दिँदै उहाँले स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन तथा उत्थानशीलताका लागि लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । जलवायु वित्तमा पहुँचको असमानता अन्त्य गर्दै राष्ट्रिय जलवायु योजना कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तीनै वक्ताले जलवायु सङ्कटको सामना गर्न बहुपक्षीय सहकार्य, वित्तीय सहयोग र व्यावहारिक कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै कोप–३१ बाट ठोस उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो ।










प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।