सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विपद्

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

राँझा (बाँके), २५ कात्तिकः रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन ।

बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि स्थानीयवासीले यस वर्ष देउसीभैलोसमेत खेलेनन् । बेपत्ताहरूको परिवार शोकमा रहेकाले गाउँमा तिहारको उल्लास नभएको स्थानीयवासी टेकराज जैसीले बताउनुभयो ।

बाढीमा परी रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्ने थपुवाका ५३ वर्षीय शेरसिंह रोकाय, उहाँकी ५६ वर्षीया श्रीमती विष्णुमती रोकाय, १९ वर्षीय दीपक रोकाय तथा आराम दमाई र उजना दमाई बेपत्ता भएका हुन् । उनीहरू बेपत्ता भएपछि गाउँमा यस वर्ष तीज, दसैँ र तिहारका खुसीयाली शोकमा परिणत भएको जैसीले बताउनुभयो ।

दाजु शेरसिंह र भाउजू विष्णुमतीलाई भेट्न तथा पवित्र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय दीपक पनि बाढीपछि बेपत्ता हुनुभयो । एक्लो छोरासहित दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि थपुवाका अनलाल रोकाय गहिरो शोकमा हुनुहुन्छ ।

बुढेसकालको सहारा एक्लो छोरा र अभिभावकका रूपमा रहेका दाजु–भाउजूको अवस्था अज्ञात भएपछि रोकाय परिवार उनीहरू फर्किने आशामा दिन काटिरहेको छ । परिवारका सदस्यको प्रतीक्षामा रहेको घर अहिले शोकमा डुबेको छ ।

रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि बाढीपछि बेपत्ता हुनुभएको छ । उहाँहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमा–बुवा फर्किने आशामा छन् । आमाबुवा दुवै बेपत्ता भएपछि तीन सन्तानको बिचल्ली भएको छ ।

“गाउँका पाँच जना बेपत्ता भएपछि परिवारजन असह्य पीडामा छन् । यो अकल्पनीय शोकका कारण गाउँवासीले यस वर्ष तिहार मनाउन सकेनन्”, जैसीले भन्नुभयो ।

उहाँका अनुसार पर्व मनाउनुभन्दा बेपत्ता परिवारलाई सान्त्वना दिन र दुःखमा साथ दिन गाउँवासी जुटेका छन् । स्थानीयवासीले नगद सङ्कलन गरी बेपत्ता परिवारका आफन्तलाई सहयोग र सान्त्वना दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले भोटेकोशी बाढीमा परी थपुवा गाउँका पाँच जना बेपत्ता भएको पुष्टि गर्नुभयो । उहाँले बेपत्ताहरूको खोजी तथा परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि काम भइरहेको बताउँदै आराम र उजनाका छोराछोरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि बाँके जिल्लाका २३ जना अझै बेपत्ता छन् । बाढीमा परी तीन जनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि