सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

अन्तर्राष्ट्रिय

भ्यान होलेनद्वारा शुमरलाई नेतृत्वमा चुनौती

भ्यान होलेनद्वारा शुमरलाई नेतृत्वमा चुनौती

अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले बहुमत नेताको पदका लागि वर्तमान नेता चक शुमरलाई चुनौती दिने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पराजित गर्दै डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनको नियन्त्रण पुनः प्राप्त गरेको केही दिनमै भ्यान होलेनको घोषणाले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा थप चर्काएको छ ।

६७ वर्षीय भ्यान होलेनले बिहीबार सामाजिक सञ्जाल एक्समा श्रमिकविरुद्ध धाँधली गरिएको र राजनीतिक भ्रष्टाचारले अर्थतन्त्र प्रभावित भएको भन्दै अमेरिकी जनताले त्यसमा हस्तक्षेप गर्न आफूहरूलाई जनादेश दिएको उल्लेख गर्नुभएको छ । त्यसका लागि नयाँ नेतृत्व आवश्यक रहेको भन्दै उहाँले सिनेट बहुमत नेताको पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।

७५ वर्षीय शुमरले नोभेम्बर ३ को निर्वाचनपछि सिनेटमा आफ्नो दलको नियन्त्रण पुनः स्थापित भए पनि नेतृत्वबाट हट्नुपर्ने दबाब सामना गर्दै आउनुभएको छ । तर, उहाँलाई औपचारिक रूपमा चुनौती दिने भ्यान होलेन पहिलो सिनेटर हुनुहुन्छ ।

भ्यान होलेनलाई डेमोक्रेटिक दलका केही प्रगतिशील नेताहरूको समर्थन छ । डेमोक्रेटसँग सहकार्य गर्ने वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यसै साता शुमरलाई नेतृत्वमा निरन्तरता दिन आफूले समर्थन नगर्ने बताउनुभएको थियो । मिशिगनका नवनिर्वाचित सिनेटर अब्दुल एल–सायेदले पनि एक्समार्फत भ्यान होलेनलाई समर्थन गर्नुभएको छ ।

शुमरले भने पार्टीको भविष्यबारे छलफललाई स्वागत गर्नुभएको छ । यद्यपि, डेमोक्रेटिक नेताका रूपमा निरन्तरता पाउन आफूलाई आवश्यक मत रहेको उहाँको दाबी छ । नयाँ डेमोक्रेटिक बहुमतको नेतृत्व गर्दै अमेरिकी जनताका लागि काम गर्न आफू तत्पर रहेको उहाँले एक्समा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि