सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

अन्ताल्या (टर्की), २६ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण र खाद्य सुरक्षाका लागि हरित हाइड्रोजन तथा हरित युरियाको वित्तीय व्यवस्थापन विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नेपालमा हरित युरिया उद्योग स्थापना गर्न आवश्यक वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

मन्त्री चौधरीले नेपालले वार्षिक ६ लाखदेखि ८ लाख मेट्रिकटनसम्म रासायनिक मल आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पश्चिम एसियामा भएको द्वन्द्वका कारण युरियाको मूल्य प्रतिमेट्रिकटन ५१९ अमेरिकी डलरबाट बढेर ९०० अमेरिकी डलर पुगेको बताउनुभयो । मलको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावले नेपालको कृषि उत्पादन र खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्ने उहाँको भनाइ थियो ।

“नेपालमा एकातिर रासायनिक मल आयातमा ठूलो रकम खर्च भइरहेको छ भने अर्कोतर्फ उपयोग हुन नसकेर स्वच्छ जलविद्युत् खेर गइरहेको छ । यस्तो अवस्थामा जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन उत्पादन र त्यसबाट हरित युरिया निर्माण गर्न सकिन्छ,” मन्त्री चौधरीले भन्नुभयो । उहाँले नेपालले सन् २०२४ मा हरित हाइड्रोजन नीति स्वीकृत गरिसकेको बताउनुभयो ।

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एसियाली विकास बैङ्क (एडिबी), जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई नेपालको पहिलो हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गर्नुभयो । हरित मल उत्पादनले कार्बन उत्सर्जन घटाउनुका साथै खाद्य प्रणालीलाई सुरक्षित बनाउने भएकाले यसलाई जलवायु न्यूनीकरण र अनुकूलन दुवै क्षेत्रको वित्तीय सहयोगका लागि योग्य बनाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपालले लामो समयदेखि रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे अध्ययन गर्दै आएको उल्लेख गर्दै मन्त्री चौधरीले अब थप अध्ययनभन्दा पनि उद्योग निर्माणका लागि लगानी र साझेदार आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि