काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) को दोस्रो संस्करण शुक्रबारदेखि काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ । अन्तर्राष्ट्रिय रूपमा चर्चित लेबनानी हरर फिल्म ‘इन दिस डार्कनेस आई सी यु’ प्रदर्शन गर्दै महोत्सवको उद्घाटन गरिएको हो ।
कूटनीतिक प्रतिनिधि, संस्कृतिकर्मी तथा चलचित्रप्रेमीहरूको उपस्थितिमा सुरु भएको महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (एनएफसीए) का अध्यक्ष केपी पाठकले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए ।
सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउन एनएफसीएसँगको सहकार्यलाई थप गहिरो बनाउने बताइन् ।
महोत्सव निर्देशक राशिक पाठकले दर्शक, साझेदार तथा प्रवर्द्धकहरूप्रति आभार व्यक्त गर्दै यस वर्षदेखि दर्शक सहभागिताको नयाँ पहल सुरु गरिएको जानकारी दिए । उक्त पहलअन्तर्गत दर्शकले मतपेटिकामा प्रत्यक्ष मत खसालेर ‘दर्शक रोजाइ’ विजेता छनोट गर्न सक्नेछन् ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका छन् ।
महोत्सवअन्तर्गत शुक्रबार दिउँसो १:१५ बजे लेबनानी निर्देशक नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यु’ प्रदर्शन गरिएको थियो । ८५ मिनेट लामो अरबी भाषाको यो अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फिल्ममा अलौकिक त्रास र राजनीतिक विषयवस्तुको विशिष्ट संयोजन रहेको उल्लेख गरेका छन् । ‘स्क्रिन डेली’ले निर्माणस्थल भूतप्रेतले ग्रस्त भएको आशंकापछि सिरियाली कामदार र लेबनानी गाउँलेबीच तनाव बढ्ने कथाका रूपमा फिल्मको चर्चा गरेको छ । त्यस्तै, ‘अहराम अनलाइन’ले फिल्ममा आप्रवासीप्रतिको शत्रुता तथा विगत र वर्तमान दुवैबाट प्रभावित भूभागको चित्रण गरिएको उल्लेख गरेको छ ।
‘अमान अलायन्स न्युज’ का अनुसार उक्त फिल्म ५८औँ कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘वर्क्स इन प्रोग्रेस’ खण्डमा छनोट भएको थियो ।
१५ कात्तिकमा (नोभेम्बर १) सम्म सञ्चालन हुने महोत्सवमा आगामी दुई दिन नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत चलचित्र प्रदर्शन गरिनेछन् ।
अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्रको उपस्थिति सुदृढ बनाउनुका साथै चलचित्रकर्मी र चलचित्रप्रेमीका लागि नयाँ अवसर सिर्जना गर्नु महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।