नेपाल प्रिमियर लीग (एनपीएल)मा पाँचाैँ खेलसम्म १ सय ५७ माथिको रन बनिरहेको थिएन । कम स्कोरका खेलले समर्थक र खेलाडीमै अपेक्षित रौनक थपेको थिएन । तर शुक्रबार विराटनगर किंग्सले १ सय ८७ रन खडा गर्दा के चाहिँ भएन ? अनेक ट्वीस्ट आए ।
सेकेन्ड लास्ट बलबाट नतिजा आउँदासम्म खेल पटक–पटक रोमाञ्चले भरियो । विराटनगरले ७ विकेट क्षतिमा १ सय ८७ रनको लक्ष्य दियो । सो भारी रन हेर्दा कर्णालीले जित्ने कल्पना सायद धेरैको थिएन । किनकि त्यसअघिका पाँच खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध बनाएको १ सय ५८ रनको लक्ष्य नै उच्च थियो । त्यही रन पछ्याउन नसक्दा विराटनगरले ८ रनको पराजय व्यहोरको थियो ।
त्यही विरानटगर आफैँले दोस्रो खेलमा रनको पहाड खडा गर्यो । एक समय समर्थक र विरोधीलाई लागेको थियो लक्ष्य सहजै भेटिने खालको छैन । विरानटगरको चुनौती र कर्णालीको कमजोरीले एक समय त्यस्तै देखायो पनि । तर अहँ कर्णाली याक्स आत्तिएन । कठिन अवस्थाबाट उठ्दै कर्णालीले एनपीएलमा शुक्रबार राति सनसनीपूर्ण रूपमा जित हात पारेरै छोड्यो ।
बंगलादेशी २२ वर्षीय आरिफुल इस्लामले १२ बलमा ३२ रन बनाए । उनको आक्रामक सुरुवातले विकेट जाँदा पनि कर्णालीलाई दबाबमा राखेन । अन्ततः त्यो सहितको आधारले जिततर्फ डोर्यायो । उनको तीन छक्का र तीन चौका मद्दतले खेलमा विकेट गुमे पनि कर्णालीले रनरेटलाई माथि नै राखिरह्यो ।
कर्णालीले लक्ष्य पछ्याउँदा मुख्य पाँच विकेट ६.५ ओभरभित्र गुमायो । त्यतिखेरसम्म टिमको खातामा ५७ रन मात्रै थियो । रन राम्रै थियो तर मुख्य विकेट लिन सक्दाको खुसी विराटनगरले मनाउन थालिसकेको थियो । अर्कोतिर कर्णाली याक्स आत्तिइसकेको थिएन । किनकि राम्रो रनरेट बनाउन इस्लामले २ सय ६६ को स्ट्राइकरेटमा ब्याटिङ गरेका थिए । त्यही रनले मुख्य विकेट गुम्दा पनि कर्णाली चर्को दबाबमा आएन ।
मुख्य ब्याटर गुमाएपछि आएका कप्तान सोमपाल कामीले जसरी खेले उनको प्रशंसा नगर्ने कोही छैन । लगभग खेलमा फर्किन पनि कठिन हुने स्थितिबाट उनै सोमपालले खेललाई एक बलअगावै रोमाञ्चक जितसम्म पुर्याए । उनको सोही साहसिलो खेल जारी एनपीएलमा सबैभन्दा रोमाञ्चक बन्यो ।
एकातिर रनको पहाड थियो । अर्कोतिर निरन्तर मुख्य विकेट पतन भइरहेका थिए । वर्षाले खेल बिथोल्न खोज्नेदेखि क्याच मिस, मिसफिल्ड केसम्म भएनन् ? तर यस्ता अनेक ट्वीस्ट आएको खेलले अन्तिम ओभरको पनि अन्तिम बल खेल्नुअघि मात्रै नतिजा दियो । कर्णालीले खेल ४ विकेटले आफ्नो पक्षमा पार्यो ।
सहासी सोमपाललाई सर्राफ र गुल्सनको साथ
खेलमा हार नमान्ने सोमपाल एकातिर थिए । ५ विकेट खसेपछि पहिले पवन सर्राफ र त्यसपछि गुल्सन झाको संयमित ब्याटिङ नै कर्णालीको रोमाञ्चक जितको आधार बन्यो । निरन्तर विकेट खसेको स्थिति रोक्न पवन शर्राफले सोमपाललाई साथ दिए । उनले २८ बलमा ३६ रनको पारी खेले । जसमा तीन छक्का र एक चौका सामेल थियो । सर्राफ १४ ओभर सकिँदा १ सय २३ रन हुँदा आउट भए ।
५७ रनमा ५ विकेट गुमाएको स्थितिबाट कर्णाली १२३/६ को बलियो अवस्थामा पुगेको थियो । त्यसपछि पनि कर्णाली खेलमै थियो । विकेट लिन सक्दा विराटनगरले पनि जितको आशाा मारेको थिएन । सँगै कीर्तिपुरको मैदानमा सिमसिमे वर्षा हुन थालिसकेको थियो । यस्तोमा खेल रोकिए डीएलएसबाट नतिजा निकाल्नुपर्ने स्थिति थियो ।
किनकि रातिको खेलमा वर्षा बढ्नेबित्तिकै डीएलएसबाट नतिजा निकाल्नुपर्ने स्थितिमा खेलको ओभर सकिइसकेको थियो । किनकि दोस्रो इनिङमा ५ ओभर खेलिसकेपछि खेल डीएलएसमा गइसकेको थियो । यस्तोमा एकातिर डीएलएसलाई मेन्टेन गर्नुपर्ने थियो । अर्कोतिर लक्ष्यलाई पनि पछ्याउने गरी रन पनि हाल्नुपर्ने थियो ।
त्यसैले सोमपाललाई अर्को किनाराबाट साथ दिनेमा थिए गुल्सन झा । उनी धेरै खेल अन्तिममा पल्टाउने खेलाडीमा पर्छन् । उनी धेरैपटक निर्णायक पनि बनेका छन् । जितनजिक पुगेको खेलमा चुकेका पनि छन् । नेपाली राष्ट्रिय टिममा सँगै खेलेका यी दुईले हार मानेनन् । एकातिर खेलमा डीएलएसलाई मेन्टेन गरेर खेले । अर्कोतिर आवश्यक रन प्रहार गर्दै निरन्तर साझेदोरीलाई अगाडि बढाए । जसले खेललाई निरन्तर रोमाञ्चक बनाउँदै अन्ततः जितसम्म पुर्याइछोडे ।
सोमपालले ३२ बलमा ६२ रनको अविश्वसनीय पारी खेले । जसमा तीन छक्का र चार चौका सामेल थिए । कतिपय खेल अन्तिममा पल्टाउने गरे पनि गुल्सनलाई सधैँ धेरै भरोसा गरिरहने खेलाडीमा राखिँदैन । तर शुक्रबार गुल्सनले बडो संयमित क्रिकेट खेले । २१ बलमा उनले बनाएको २८ रनले ठूलो साथ दियो । जसमा दुई छक्का र दुईवटै चौकासमेत थिए ।
सोमपाल एक्लैले खेल्दा गुल्सन आउट भएको भए खेल विराटनगरको पोल्टामा जाने पक्का थियो । किनकि गुल्सनपछि कर्णालीसँग नन्दन यादव मात्रै भरपर्दा ब्याटर थिए । उनी पनि आउट हुँदा खेल जित्न कर्णालीलाई कठिनाइ पर्न सक्थ्यो । तर दुवैले हार मानेनन् अनि सम्भव बन्यो चुनौतीपूर्ण रनको पहाडलाई पछ्याउने रोमाञ्चक जित ।
विराटनगरलाई रोक्ने पनि सोमपाल नै
जितमा सोमपाल ब्याटिङमा मात्रै निर्णायक भएनन् । उनले विराटनगरलाई दुई सय रनमाथि जान दिएनन् । उनको घातक बलिङ फिगरले त्यही भन्छ । ४ ओभरमा ३३ रन दिँदा सोमपालले ४ विकेट चट्काए । जसमा ५२ बलमा आक्रामक ८७ रनको पारी खेल्ने हार्ड हिटर लोकेश बमको विकेट पनि सामेल थियो ।
शतकतर्फ अघि बढ्दा जब सोमपालले कट बोल्डमा बमको विकेट लिए । त्यसपछि नै हो विराटनगरले दुई सयको आँकडा पार नगरेको । टिमको रनको रफ्तार अझै बढाउने बेलामा १५.५ ओभरमा बमको विकेट १४४/४ को स्थितिमा गुमेको थियो । सोमपालले चरिथ अशलंका, एन्जोलो म्याथ्युज र आन्द्रे रसेलेको विकेट पनि लिए ।
खतरनाक रसेलको विकेट लिएपछि सोमपालले गरेको सिग्नेचर मेडिटेसन सेलिब्रेसनले कीर्तिपुरमा कम्ता उत्साह थपेको थिएन । टिमको नेतृत्व बलिङ र ब्याटिङमा देखाएको त्यही नायकत्वले अन्ततः सोमपालले निर्विवाद रूपमा प्लेयर अफ द म्याच पनि जिते ।
कम थिएन विराटनगरको इनिङ्स
जित्ने कर्णालीको मात्रै चर्चा हुँदा विराटनगरका केही खेलाडीको प्रदर्शनको पनि उत्तिकै चर्चायोग्य थियो । लोकेश बमले त कीर्तिपुरमा सनसनीपूर्ण ब्याटिङ नै गरेका थिए । उनले ९ छक्का र तीनवटा चौकाको मद्दतमा ८७ रनको पारी खेलेका थिए । सोमपालले सनसनी नमच्चाएको भए विस्फोटक पारी खेलेका लोकेश खेलका नायक हुने पक्का थियो । तर सोमपालले त्यो नायकत्व खोस्ने गरी सनसनी मच्चाए ।
टिममा लोकेश त थिए नै उनीभन्दा नाम चलेको वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका एन्ड्रयु म्याथ्युज, चरिथ अशलंका, सेहान जयसूर्या जस्ता नामुद खेडाडी थिए । लोकेशसँग मिलेर श्रीलंकाका म्याथ्युले पनि चुनौतीपूर्ण लक्ष्य दिनेगरी ब्याटिङ गरेका थिए । उनले २३ बलमा ३१ रन बनाएका थिए । उनीपछि रसेलले पनि विराटनगरको रनको रफ्तारलाई बढाउन १५ बलमा २७ रनको आक्रामक पारी खेलेका थिए । जसमा आक्रामक दुई छक्का र तीनवटा चौका सामेल थिए ।
अनुभवी श्रीलंकन एन्जोलोले विरानटगरको लागि निक्कै कसिलो बलिङ पनि गरेका थिए । चार ओभरमा २५ रन दिँदा उनले तीन विकेट लिएका थिए । तर अरु ६ खेलाडीले ८ माथिको इकोनोमीमा बलिङ गर्दा कर्णाली जिततर्फ लम्कियो । कर्णालीका दुईवटा क्याच र केही सहज रनआउट गुमाउनु विराटनगरको लागि अर्को दुर्भाग्य बनिदियो । अन्तिम ओभर लिएर आएका सन्दीपको बलमा गुल्सनको क्याच होस् कि त्यसअघि सोपपालको दुईवटा क्याच नै किन नहोस् ती छुट्दा कर्णालीको जित सम्भव भयो ।
रोमाञ्चक छैटौँ खेलपछि कर्णाली चार अंकसहित पहिलो स्थानमा छ । किनकि पहिलो खेलमा जनकपुरलाई १ सय ३३ रनमा पुग्न नदिन कर्णालीले गज्जबको बलिङ गरेको थियो । १ सय १३ रनमै जनकपुरलाई रोक्दा कर्णालीको १९ रनको जित सम्भव थियो । विराटनगरमाथि पनि जितेको कर्णालीले अब सोमबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजको सामना गर्नेछ ।
विराटनगरको दुर्भाग्य
विराटनगरको जित्ने सम्भावनामा छुटेका क्याच पनि कारण बने । जितनजिक पुगेर दुवै म्याचमा भोगेको पराजयले यस्ता पक्ष पनि कारणमा जोडिन्छन् । जसले अबका खेलमा फेरि त्यस्तै हुने हो कि डर पैदा गर्छ । जारी एनपीएलमा विराटनगर लगातारका दुवै म्याच मुखमुख पुगेर हार्न पुग्यो ।
चितनवसँग १ सय ५८ रन पछ्याउँदा तीन बलअगावै विराटनगर अलआउट भयो । जसको नतिजा मुखैको जितबाट ८ रनको पराजय व्यहोर्नुपरेको थियो । थोरै सम्हालिन नसक्दा परिणाम पहिलो म्याच थियो । दोस्रो खेलमा बलियो चुनौती दिँदा पनि पराजय व्यहोर्नुपर्ने स्थिति आयो । विराटनगरसँग बलरले जोगाउन सक्ने रनको थुप्रो थियो । अनुभवी र खेल नियन्त्रणमा राख्न सक्ने आन्द्रे रसेल, एन्जालो म्याथ्थयुज, चरिथ अशलंका जस्ता खेलाडी थिए ।
सन्दीप लामिछाने लेग स्पीनर र प्रतिश जिसीजस्ता फास्ट बलर पनि थिए । छुटेका क्याच, कमजोर फिल्डिङ र केही रणनीतिक कमजोरीले दोस्रोपल्ट उसको जितेको म्याच खोसियो । राम्रो खेलेर मात्रै जितिँदैन भन्ने उदाहरण विराटनगर बन्न पुग्यो । मुखमै पुगेर दुई खेल हार्दा विराटनगरले अझै अंकको खाता खोल्न सकेको छैन ।
लगत्तैको म्याच विराटनगरले जितको लयको भोक देखाइरहेको सुदूरपश्चिमसँग खेल्नुपर्नेछ । त्यो खेलमा पनि पराजय व्यहोरे शीर्ष चारभित्र पर्न विराटनगरको लागि निकै कठिन हुन सक्नेछ । सुदूरपश्चिमसँग शनिबार हुने विराटनगरको खेलले समीकरणलाई अझै प्रस्ट्याउनेछ । जसले एनपीएलको सिजनलाई थप रोमाञ्चक बनाउँदै लानेछ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।