सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

जनकपुर बोल्ट्स ९ रनले विजयी, पोखराको लगातार दाेस्राे हार

जनकपुर बोल्ट्स ९ रनले विजयी, पोखराको लगातार दाेस्राे हार

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । 

जनकपुरले दिएको १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो । यस जितसँगै जनकपुरले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । तीन खेल खेलेको जनकपुरको यो दोस्रो जित हो ।

पाेखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले र किरण ढगुन्नाले १५ रन बनाए । अन्या ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे । जनकपुरका लागि तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रन बनाए । 

यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी नीशम ११ रनमा आउट भए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले ।

पोखरा एभेन्जर्सका लागि बलिङतर्फ शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २ तथा मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।

कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराकाे याे दाेस्राे हार हाे । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि