विकेट भए पनि लगातार सुस्त रनरेटबाट उठाउँदै अन्ततः करण केसी र राशिद खानले एनपीएलमा काठमाडौं गोर्खाजलाई पहिलो जित दिलाएका छन् । कर्णाली याक्सविरुद्ध १३ ओभरमा ९५ रन हुँदा ४ विकेट गुमाइसकेको स्थितिबाट राशिद र करणले खेललाई अन्ततः जितसम्म पुर्याएका हुन् ।
जारी एनपीएलमा दोस्रो सर्वाधिक १८१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले दुवै बल अगावै लक्ष्य पूरा गर्यो । जसमा राशिद र करण मुख्य नायक बने । रन सुस्त बन्दा राशिदले एक समय आदिल आलमसँग मिलेर खेल्दै विकेट जोगाए । आदिल सुस्त खेल्दै २७ बलमा २० रन बनाएर आउट भए । त्यसलगत्तै भीम सार्की पनि ५ बलमा चार रन बनाएर आउट भए ।
त्यसपछि करण केसी र राशिदले शानदार साझेदारी गर्दै १२ माथिको रनरेटलाई पछ्याउँदै खेललाई जितसम्म पुर्याएका हुन् । राशिद र आदिल आलमले ३८ बलमा ५० रनको साझेदारी गरे । करण राशिदले पनि पाँचौँ विकेटको लागि २४ बलमा ५० रनकै साझेदारी गरे । जसले जितको आधार तयार पार्यो ।
१६ ओभरमा १७, १७ औँ ओभरमा ११ र १८ औँ ओभरमा १५ रन हानेपछि काठमाडौं जिततर्फ अघि बढेको थियो । १६.५ ओभरमा राशिद खान आउट भए । तर उनले सुरुदेखि विकेट गुमाउने स्थितिबाट खेलालाई जिततर्फ डोर्याइसकेका थिए । उनले ३३ बलमा ५० रनको इनिङ खेले । जसमा दुई छक्का र तीन चौका सामेल थिए ।
१८ औँ ओभरको अन्तिम बलमा करण आउट भएका थिए । तर उनले २० बलमा ४४ रनको विजायोन्मुख रन जोडिसकेका थिए । करणले तीन छक्का र चार चौका प्रहार गरे । १७ ओभरमा ५ विकेट क्षतिमा पवन सर्राफले दुई छक्कासहित १९ औँ ओभरमा फेरि १७ रन दिएपछि अन्तिम ओभरमा चार रनमात्रै आवश्यक पर्यो ।
१९ औँ ओभरमा गोर्खाजको लागि जहानदाद खानले दुई छक्का मद्दतमा १० बलमा २२ रन प्रहार गरे । सन्तोष यादवले पनि तीन बलमा ५ रन बनाए । करणले बलिङमा पनि चार ओभरमा ३५ रन दिएर दुई विकेट लिए । साधव आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एक एक विकेट लिए ।
कस्तो भयो वार्नरको पहिलो खेल ?
एनपीएल सिजन ३ कै प्रतीक्षारत खेलाडी अस्ट्रेलियन डेभिड वार्नर सोमबार मात्रै काठमाडौं आएका थिए । तर काठमाडौं उत्रिएकै दिन उनले काठमाडौं गोर्खाजबाट ओपनिङ गरे । १० बलमा दुई चौकासहित उनले १६ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीको बलमा उनी बोल्ड हुन पुगे । यद्यपि मोहम्मद आदिलले धेरै बल पनि खेले पनि विकेट जोगाए । राशिदले हिट गरे । अन्तिममा करणले जितसम्म पुर्याए ।
कर्णाली याक्सको तर्फबाट सोमपाल कामीले चार ओभरमा २ विकेट लिए पनि महंगो सावित भए । उनले ४४ रन दिए । हुसेन तलातले चार ओभरमा ३२ रन दिएर दुई विकेट लिए । मार्क वाट र नन्दन यादवको नाममा एक एक विकेट रह्यो ।
कर्णालीको लागि कसको प्रदर्शन कस्तो ?
दुई खेल जितेर उत्साही भएको कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा १८० रन बनाएको थियो । जसमा ओपनर आरिफुल इस्लामले २२ बलमा आक्रामक ४४ रन बनाएका थिए । त्यसपछिका ब्याटरले राम्रो प्रभाव देखाएनन् । तर मध्यपंक्तिमा हुसेन तलातले ४०, पवन सर्राफले नटआउट ३० र गुल्सन झाले १२ बलमा २० रन बनाए । सोही प्रदर्शनले कर्णालीले जारी प्रतियोगितामा दोस्रो ठूलो १८१ रनको लक्ष्य दिएको थियो ।
अंक तालिकामा को अगाडि ?
पहिलो खेलमा काठमाडौं जनकपुरसँग ८ विकेटले हारेको थियो । दोस्रो खेलमा बलियो टोलीविरुद्ध हात पारेको जित र वार्नरको आगमनले काठमाडौंको मनोबल उठाएको छ । प्राप्त दुई अंकले काठमाडौं छैटौँ स्थानमा छ ।
कर्णाली याक्स तीन खेलमा दुई जित एक हारपछि पहिलो स्थानमा छ । जनकपुर बोल्टस् पनि दुई तीन खेलमा दुई जितसहित दोस्रो स्थानमा छ । दुई खेलबाट तीन तीन अंक जोडेका लुम्बिनी र चितवन तेस्रो चौथो स्थानमा छन् । दुई अंक जोडेको विराटनगर किंग्स पाँचौँ स्थानमा छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।