युगान्डाले सोमालियामा तैनाथ आफ्ना सेना फिर्ता गर्न थालेको जनाएको छ । सोमालियामा विद्रोहीविरुद्धको अन्तरराष्ट्रिय सैन्य अभियानमा युगान्डा प्रमुख योगदानकर्ता रहँदै आएको थियो ।
सन् २००७ मा अफ्रिकी सङ्घले सोमालियामा इस्लामिक विद्रोहीविरुद्ध लड्न सैन्य अभियान सुरु गरेपछि त्यहाँ सेना पठाउने पहिलो देश युगान्डा थियो ।
त्यसयता अफ्रिकी सङ्घका विभिन्न सैन्य अभियानमा युगान्डाले हजारौँ सैनिक परिचालन गर्दै प्रमुख भूमिका निर्वाह गर्दै आएको छ ।
तर, पछिल्ला महिनाहरूमा संयुक्त राज्य अमेरिकासहित प्रमुख आर्थिक सहयोगीहरूले सहयोग कटौती गरेपछि सोमालियामा सञ्चालित अन्तरराष्ट्रिय सैन्य अभियानको भविष्य अनिश्चित बनेको छ ।
युगान्डाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युगान्डा पिपुल्स डिफेन्स फोर्सेस (यूपीडीएफ) ले सोमालियाको सङ्घीय सरकारसँग भएको द्विपक्षीय सम्झौताअन्तर्गत त्यहाँ तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरेको छ ।”
विज्ञप्तिमा सन् २०२७ को अन्त्यसम्ममा सोमालियामा रहेका सबै युगान्डाली सैनिकलाई चरणबद्ध रूपमा फिर्ता गरिने उल्लेख छ । यसमा ‘अफ्रिकी सङ्घ सहयोग तथा स्थिरीकरण मिसन इन सोमालिया’ (एयूएसओएम) अन्तर्गत तैनाथ सैनिकसमेत समावेश छन् ।
अन्तरराष्ट्रिय सैन्य अभियान सञ्चालन भइरहे पनि अलकायदासँग आबद्ध अल–शबाब समूहले सोमालियाका मध्यवर्ती क्षेत्रका ठूला भू–भागमा अझै नियन्त्रण कायम राखेको छ ।
युगान्डाका चार हजार पाँच सयदेखि छ हजार सैनिक पछिल्लो अफ्रिकी सङ्घको मिसनअन्तर्गत सोमालियामा तैनाथ थिए । त्यस्तै, थप दुई हजारदेखि दुई हजार पाँच सय सैनिक द्विपक्षीय सम्झौताअन्तर्गत त्यहाँ खटिएका थिए ।
अमेरिकाले संयुक्त राष्ट्रसङ्घको महत्वपूर्ण रसद तथा बन्दोबस्तीसम्बन्धी मिसनलाई दिँदै आएको आर्थिक सहयोग फिर्ता लिएको छ । उक्त मिसनमा सैन्य गठबन्धन निर्भर रहँदै आएको थियो । अल–शबाबविरुद्धको कारबाहीमा पर्याप्त प्रगति नभएको तथा सोमाली सरकारले राष्ट्रिय एकता कायम गर्न र राजनीतिक सुधार अघि बढाउन नसकेको भन्दै वासिङ्टनले असन्तुष्टि जनाउँदै आएको छ ।
युगान्डाली सेनाले सेना फिर्तीको निर्णयसँगै सोमालियामा शान्ति र स्थायित्व कायम गर्न विगत २० वर्षदेखि गर्दै आएको आफ्नो सहयोग अभियान अन्त्य हुने जनाएको छ । यस कदमले सोमाली सशस्त्र बललाई देशको सुरक्षाको पूर्ण जिम्मेवारी लिन सक्षम बनाउने सेनाको भनाइ छ ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।