सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

मौसम

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयाे

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयाे

बाजुरा, १६ कात्तिकः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव आज नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको हो ।

बडीमालिकामा भारी हिमपातपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार मृतक बोहराको शव सदरमुकाम ल्याई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यका लागि खटिएको थियो । चार हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिकामा हिमपातपछि अत्यधिक चिसाको कारण लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो । भारी हिमपातका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएपछि हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार कार्य अघि बढाइएको हो ।

बडीमालिका क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले यहाँ मौसममा एक्कासी परिवर्तन हुने र भारी हिमपात हुने जोखिम रहन्छ । विशेषगरी मौसम प्रतिकूल हुने समयमा हिमपात हुने भएकाले तीर्थयात्रा र भ्रमणमा जानेहरूलाई आवश्यक तयारी, मौसमको जानकारी र सुरक्षासम्बन्धी सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन् ।

स्थान

सुदूरपश्चिम प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि