सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ । माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उहाँलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो । प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गर्नुभएको छ । उहाँले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झुटा भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो । उहाँ संयुक्त राष्ट्रसङ्घको महासभाका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक हुनुहुन्छ । उहाँले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गर्नुभएको थियो । सन् २०२१–२२ मा उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको ७६औँ सत्रको अध्यक्षता गर्नुभएको थियो ।

उहाँले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यस्तै, सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गर्नुभएको थियो । पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उहाँले नेतृत्वबाट राजीनामा दिनुभएको थियो ।

गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी हुनुभएको थियो । उहाँलाई ‘स्पेस वी कल होम : डायस्पोरा एन्ड बिलङ्गिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि