सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

जनकपुर, १८ कात्तिकः जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उहाँले कुरीतिविरुद्ध समुदायस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सडक नाटकसहित विभिन्न माध्यमबाट बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक चेतना बढाउन सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी मधेस प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदाय र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सातवटा बालविवाह रोकिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको बताउनुभयो । बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सडक नाटकमार्फत बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो ।

स्थान

मधेश प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि