सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

मुद्रास्फीति बढेपछि बेलायतमा ब्याजदर वृद्धि तयारी

मुद्रास्फीति बढेपछि बेलायतमा ब्याजदर वृद्धि तयारी

ऊर्जा लागतमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढाएपछि बैंक अफ इङ्गल्यान्डले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक बिहीबार ब्याजदर बढाउने तयारी गरेको छ । बैंकले आधार ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाएर चार प्रतिशत पुर्‍याउने अपेक्षा गरिएको छ ।

अमेरिका–इरान युद्ध र युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेका आक्रमणका कारण ऊर्जा आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा डिजेलको मूल्य उच्च बिन्दुमा पुगेको छ । यसले उपभोक्ता मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

बैंकले सन् २०२३ अगस्टमा अन्तिम पटक ब्याजदर बढाएको थियो भने गत डिसेम्बरदेखि दर ३.७५ प्रतिशतमा कायम राखेको थियो । पछिल्लो सरकारी तथ्याङ्कअनुसार बेलायतको वार्षिक मुद्रास्फीति दर सेप्टेम्बरमा बढेर ३.५ प्रतिशत पुगेको छ ।

ऊर्जा बिलमा भएको वृद्धिले लाखौँ बेलायती परिवार प्रभावित भएका छन् । सरकारले वार्षिक बजेटमार्फत केही राहत घोषणा गरे पनि नयाँ वर्षमा मुद्रास्फीति करिब चार प्रतिशत पुग्ने अनुमान गरिएको छ । एजे बेलकी वित्तीय विश्लेषण प्रमुख ड्यानी ह्युसनले मध्यपूर्वको द्वन्द्वका कारण मूल्यवृद्धिको चिन्ताले उपभोक्ताको विश्वास कमजोर बनाएको बताउनुभएको छ ।

बैंकले ब्याजदरसम्बन्धी निर्णयसँगै बेलायतको आर्थिक वृद्धि र मुद्रास्फीतिसम्बन्धी नयाँ प्रक्षेपण पनि सार्वजनिक गर्नेछ । नोमुराका विश्लेषक जर्ज बक्लेले ऊर्जा मूल्य उच्च रहेकाले बैंकले निकट भविष्यको मुद्रास्फीति र आर्थिक वृद्धिको अनुमान बढाउन सक्ने बताउनुभएको छ ।

यसअघि अस्ट्रेलियाको केन्द्रीय बैंकले पनि मध्यपूर्वको लामो द्वन्द्व र निरन्तर मुद्रास्फीतिको दबाबलाई कारण देखाउँदै मङ्गलबार ब्याजदर बढाएर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत पुर्‍याएको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि