चितवन, १९ कात्तिक: भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो ।
भरतपुर महानगरपालिकाले ट्राफिकलाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ । “महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिकलाइट सञ्चालन गरिसकिएको छैन । प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो । महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,” महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भन्नुभयो ।
उहाँका अनुसार ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक शिक्षा लिएका विद्यार्थीहरूको सक्रियतामा कार्यक्रमलाई अघि बढाइएको हो । वातावरण शाखाका इन्जिनियर घिमिरेले अहिले हुने गरेका सवारी दुर्घटना कम गर्न ट्राफिकलाइट जडान सकेर सचेतना जगाउन सुरु गरिएको बताउनुभयो । ट्राफिक व्यवस्थापन र पार्किङका क्षेत्रमा देखिएको समस्या समाधानका लागि एकल प्रयासले सम्भव नहुने भन्दै स्थानीयस्तरमा टोल विकास संस्थाहरूको सक्रियता पनि रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिकलाइट प्रयोगले मात्रै दुर्घटनामा कमी नआउने बताउनुभयो । सवारी चालकको लापरबाहीले दुर्घटना बढ्ने भन्दै उहाँले समुदायस्तरबाटै यसलाई सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । सवारी चालकको लापरबाही, हेलचेक्र्याइँलगायत कारणले दुर्घटना बढ्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भरतपुर महानगर-१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिकलाइटले सवारी दुर्घटनासँगै सवारीको गतिलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । महानगरका छवटा चोकमा ट्राफिकलाइट जडान गरेर अहिले सडक सुरक्षाका कामहरू गरिएको उहाँले जानकारी दिनुभयो ।
महानगरका पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोकमा ट्राफिकलाइट जडान गरिएको छ । सडक विभागको ट्राफिक महाशाखाले ती ठाउँमा लाइट जडान गरेको हो । दर्शन मिडियाका अध्यक्ष प्रकाशमणि ज्ञवालीले ट्राफिकलाइट सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकलाई सहजीकरण गर्न कार्यक्रम थालिएको बताउनुभयो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।