सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

जापानी अन्तरराष्ट्रिय कम्पनीको सम्पत्ति कब्जा गर्न रूसको निर्देशन

जापानी अन्तरराष्ट्रिय कम्पनीको सम्पत्ति कब्जा गर्न रूसको निर्देशन

क्रेमलिनले बिहीबार जापान टोबाको इन्टरनेसनल (जेटीआई) का रूसी सम्पत्ति कब्जा गर्ने आदेश दिएको छ ।

जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि टोकियोसँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा यो कदम चालिएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको एक निर्देशनमा ती सम्पत्तिलाई ‘अस्थायी प्रशासन’ मा लिइने उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतिबन्धको जवाफी कारबाहीका रूपमा मस्कोले विदेशी कम्पनीका रूसी सञ्चालनविरुद्ध चलाइरहेको अभियानको यो पछिल्लो कदम हो ।

यस अभियानमा धेरै युरोपेली कम्पनीहरूले आफ्ना रूसी सञ्चालन गुमाएका छन् । हालै स्विस खाद्य समूह नेस्ले र फ्रान्सेली सुपरमार्केट विशाल अउसानले पनि त्यस्तै सामना गर्नुपरेको थियो ।

जेनेभामा मुख्यालय रहेको जेटीआईको रूसी सञ्चालनको ‘इन्डस्ट्रियल एसेट्स’ एक रूसी कम्पनीलाई हस्तान्तरण गरिएको निर्देशनमा उल्लेख छ ।

युक्रेनमाथि रूसको पूर्ण आक्रमणपछि सयौँ विदेशी कम्पनीहरू रूसबाट बाहिरिएका थिए, तर धेरैले भने बस्ने निर्णय गरेका थिए । मस्कोले तथाकथित ‘मित्रवत् नभएका’ देशका कम्पनीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ ।

ती देशहरूले युद्धका कारण रूसमाथि प्रतिबन्ध लगाएका छन् । यसमा लाभांश भुक्तानीमाथिको प्रतिबन्ध पनि समावेश छ, जसले मुनाफालाई देशभित्रै रोक्ने काम गर्छ । साथै, बेच्न खोज्नेहरूका लागि उच्च बहिर्गमन कर पनि लगाइएको छ । धेरै विदेशी कम्पनीहरूले आफ्ना रूसी सम्पत्ति खारेज गरी स्थानीय व्यवस्थापन टोलीलाई नियन्त्रण सुम्पिएका छन् । जापान प्रशान्त महासागरमा रहेका द्वीपहरूबारे मस्कोसँग दशकौँदेखि विवादमा छ ।

युक्रेनमाथिको आक्रमणपछि जापानले पनि मस्कोविरुद्ध केही प्रतिबन्धमा सहभागी भएको छ । रुसको सुरक्षा सेवा एफएसबीले गत महिना होक्काइदो शिमबुनका जापानी पत्रकार युकी इमाईलाई ‘रूसी भूमिमा जासुसी गतिविधि सञ्चालन गरेको’ आरोपमा पक्राउ गरेको थियो । मस्कोस्थित विदेश मन्त्रालयले पनि टोकियोले देशभित्र जासुसीका लागि व्यवस्थित रूपमा पत्रकारहरू प्रयोग गर्ने गरेको आरोप लगाएको छ ।
जापानले यी आरोपहरू अस्वीकार गरेको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि