सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

विजेतालाई अलैँची पुरस्कार

विजेतालाई  अलैँची पुरस्कार
AI-generated illustration

ताप्लेजुङ, ९ कात्तिक : फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।

मिक्वाखोला गाउँपालिकाले आगामी मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्न गइरहेको फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार दिन लागेको हो ।

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल बनाउने उद्देश्यले आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा अलैँचीलाई प्रवर्द्धन गर्ने नगदको सट्टा अलैँची दिने व्यवस्था गरेको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, च्याब्रुङ प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

सोमबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी गराइएको हो । समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार मेलाको मुख्य आकर्षण पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा घरेलु टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन् ।

फुटबल प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसँगै रु तीन लाख दुई हजार ८३ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु एक लाख ५२ हजार ८३ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा पुरस्कार राशि बराबरको अलैँची प्रदान गरिएको थियो ।

नगदको सट्टा अलैँचीलाई पुरस्कारका रूपमा प्रदान गर्नुको उद्देश्य स्थानीय उत्पादनको प्रचारप्रसार गर्नुका साथै अलैँचीखेती र यसको बजार प्रवर्द्धनमा सहयोग पुर्याउनु रहेको आयोजकले बताएका छन् ।

अलैँची ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो । मेलामार्फत फङ्फङ्देन झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई एकैसाथ जोड्ने यस मेलाले मिक्वाखोला गाउँपालिकाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो ।

मिक्वाखोला गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाको सहयोगमा मेला आयोजना हुने भएको हो ।

स्थान

कोशी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि