सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्य समाचार

कल्पना पटवारीको स्वरमा ‘करीले परबिया’ सार्वजनिक, जनकपुरका धार्मिक स्थल र मधेशका कलाकारको आकर्षक प्रस्तुति

कल्पना पटवारीको स्वरमा ‘करीले परबिया’ सार्वजनिक, जनकपुरका धार्मिक स्थल र मधेशका कलाकारको आकर्षक प्रस्तुति

जनकपुरधाम । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको नयाँ छठ गीत ‘करीले परबिया’ सार्वजनिक भएको छ। आगामी छठपर्वलाई लक्षित गरी तयार पारिएको भोजपुरी भाषाको यस गीतले मिथिलाको धार्मिक आस्था, मैथिली संस्कृति र छठपर्वको मौलिक परम्परालाई उजागर गरेको छ।

उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा मधेश प्रदेशका कलाकारसँगै जनकपुरधामका प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई विशेष रूपमा समेटिएको छ। जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको भिडियोमा छठपर्वका विधि, पूजा–आराधना र श्रद्धालुहरूको धार्मिक आस्थालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेको गीतमा शिव साजनको शब्द तथा संगीत रहेको छ। शिशिर पाण्डेले संगीत संयोजन गरेका छन् भने अनिल बागीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय देख्न सकिन्छ। कमलेश सिंह (काम ली)को निर्देशनमा तयार भएको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो। भिडियोको छायांकन साजन ठाकुरले गरेका छन् भने ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा निर्मात्री थापाले मिथिलाको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा आफू निरन्तर सक्रिय रहने बताइन्। उनले गीतसंगीत र चलचित्रमार्फत मिथिलाको सभ्यता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आफ्नो प्रयास रहेको उल्लेख गरिन्।

थापाले आगामी दिनमा पनि सबै धर्म र चाडपर्वको सम्मान गर्दै सांस्कृतिक पहिचान झल्किने सिर्जनालाई प्राथमिकता दिने बताइन्। उनले आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित चलचित्र ‘मायाजाल’ केही दिनपछि प्रदर्शनमा आउने जानकारी दिँदै नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा सार्वजनिक हुने पनि बताइन्।

भोजपुरीसहित हिन्दी, मराठी र बंगाली भाषाका गीतमा समेत स्वर दिएकी गायिका कल्पना पटवारीका ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘ऐला रे ऐला’ र ‘गन्दी बात’ लगायतका गीत लोकप्रिय छन्। पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गीतसंगीतमा समेत सक्रिय पटवारीको ‘करीले परबिया’ ले छठपर्वको सांस्कृतिक महत्त्वलाई थप व्यापक रूपमा चिनाउने अपेक्षा गरिएको छ।

स्थान

धनुषा, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि