सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

त्रिवेणी (रुकुमपश्चिम), २३ कात्तिकः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे१ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

घाइतेमध्ये १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र आठ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ ।

त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ । जिपमा सवार सबै आठविसकोट नगरपालिकाका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

स्थान

कर्णाली प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि