सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ, २३ कात्तिकः काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा उसले आज चितवन राइनोजलाई १० रनले हराएको हो ।

चितवनको यो तेस्रो पराजय हो । आजको खेलमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । खेलमा रवि बोपाराले अर्धशतकीय पारी खेले ।

उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रनको पारी खेलेका हुन् । यस्तै, डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए । काठमाण्डुका लागि बलिङतर्फ सहान अराचिगेले दुई, कप्तान करण केसी, सन्तोष यादव, कामिल मिसारा, जहानदाद खान र गणेश गौतमले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो ।

उसका लागि रशिद खानले अर्धशतकीय पारी खेले । उनले ३० बलमा चार छक्का र दुईचौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो ।

यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले तीन, कप्तान सिकन्दर रजा र कमल सिंह ऐरीले दुई–दुई र डान मोस्लीले एक विकेट लिए ।

जितपछि काठमाण्डु अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले पाँच खेलबाट आठ अङ्क जोडेको छ ।

चितवनसँग पाँच खेलबाट पाँच अङ्क मात्र छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि