सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

गाई संरक्षणका लागि सहयोग जुट्दै

गाई संरक्षणका लागि सहयोग जुट्दै

कास्की, २३ कात्तिकः सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् ।

गौशालामा यही कात्तिक २१ गतेदेखि सञ्चालन भइरहेको ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ मा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलन जारी छ । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले गौशालालाई रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

कार्यक्रम संयोजक लक्ष्मण पौडेल (हरिओम गुरु) का अनुसार हालसम्म करिब रु तीन लाख नगद सङ्कलन भएको छ ।

यसैगरी, गाईका लागि पराल, गुण, दाना, चोकर, पिठो तथा विभिन्न प्रकारका फलफूल सहयोगस्वरूप प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

गाईलाई असुरक्षित अवस्थामा सडकमा छाड्नुपर्ने अवस्था अन्त्यगरी आश्रय, आहार र आवश्यक हेरचाह गर्ने उद्देश्यले स्थापना गरिएको गौशालालाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न दाताले नगद तथा जिन्सी सहयोग गरेका छन् ।

गौशालाका परिकल्पनाकार नन्दगोपाल दासले सडक तथा सार्वजनिक स्थानमा असुरक्षित अवस्थामा रहेका गाईको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताउनुभयो ।

उहाँले गौशालाको सञ्चालन मुख्यतः दाताले उपलब्ध गराउने पराल, चोकर, दाना, अन्य खाद्यान्न तथा आर्थिक सहयोगमा निर्भर रहेको जानकारी दिनुभयो ।

“गौशालालाई दिगो रूपमा सञ्चालन गर्न सबै सहयोगी मनहरूको खाँचो छ । गाईको आहार र हेरचाहका लागि समुदाय, धार्मिक सङ्घसंस्था तथा दाताको निरन्तर सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

गौशालाले गाईको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्दै आएको छ । महोत्सवमा सहभागी गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले गाईको संरक्षण र सम्मान धार्मिक आस्था तथा संस्कृतिसँगै सामाजिक र मानवीय दायित्वको विषय भएको बताउनुभयो ।

तिहारमा गाईको पूजा गर्ने धार्मिक परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गौशालामा पञ्चदिवसीय गाई पूजा महोत्सव आयोजना गरिएको हो । महोत्सवले सर्वसाधारणलाई गौशालामै पुगेर गाईको पूजा, दर्शन तथा सेवामा सहभागी हुने अवसर प्रदान गरेको छ । नौ वर्षअघि पाँच वटा गाईबाट सुरु गरिएको गौशालामा अहिले १५१ वटा गाई पुगेका छन् ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि