सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

ख्वप (भक्तपुर), २५ कात्तिकः विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

न्हुदँया भिन्तुना ¥याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना रयालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए ।

पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना संरचनामा आगलागी हुनसक्ने जोखिमसमेत बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।

सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर परिसरमा यसरी खुला रूपमा बारुदजन्य पटाका पड्काउँदा मन्दिरमा आगालागि हुन सक्ने स्थानीयको भनाई हो ।

स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जाल फेसबुकमा पटका पडकाएको फोटो भाइरल भएपछि लेखेका छन्, सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ ।

उहाँले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको फेसबुकमार्फत उल्लेख गर्नुभएको छ ।

त्यस्तै, अनिल पाउँले टौमढीमा पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाको प्रत्यक्षदर्शी राससकर्मी त्यहाँं स्थलगत रिपोर्टिगमा पुग्दा पटाकाको ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो ।

पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्न कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत प्रत्यक्ष देखिएको थियो ।

समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुनबाट जोगिएको थियो । उक्त पटाका मन्दिरको पुरानो तथा मक्किएको काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनास्थलमा सुरक्षाकर्मीसमेत उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफू सङ्ख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताउनुभएको थियो ।

उहाँका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना प्रवाह गर्दै आएको थियो । केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो । पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ ।

टौमढीका स्थानीयबासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका स्थानीयवासी प्रभावित भएको बताउनुभयो ।

राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्न नपाएको उहाँले गुनासो गर्नुभयो । चाडपर्व मनाउने नाममा गरिएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको स्थानीयको भनाइ छ ।

पटाकाको आवाजले शान्त वातावरणमा असर पु¥याउनुका साथै धुवाँले घरभित्रै बस्न असहज बनाएको थियो । पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन् ।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ ।

यसका साथै विश्व सम्पदा सूचिमा विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले धेरैलाई गम्भीर बनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

पटाकाबाट निस्कने धुवाँमा रहेका केही विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन, जोखिम मुख्यतः प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ । यस विषयमा आज हुने तिहारको अन्तिम दिन राति पनि यस्तै घटना नदोहोसिओस् भनेर सवैले अपेक्षा गरेका छन् ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि