सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली (तनहुँ), २५ कात्तिकः पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् ।

बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिनुभएको हो । नेपाली चाडपर्व, संस्कार र संस्कृतिबारे जानकारी लिन इच्छुक चिनियाँ पर्यटकले भ्रमणकै क्रममा भाइटीका लगाउने अवसर पाउँदा खुसी व्यक्त गरेका छन् ।

मङ्गलबार बन्दीपुर आइपुगेका पर्यटकले नेपालीले मनाउने भाइटीकाबारे स्थानीयसँग जिज्ञासा राखेका थिए । त्यसपछि स्थानीय बसन्त पौडेलले उनीहरूलाई भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराउनुभएको थियो । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने, फूलको माला पहिराइदिने तथा दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा रहेको उहाँले जानकारी गराउनुभएको थियो ।

भाइटीकाको महत्त्व र विधिबारे जानकारी पाएपछि चिनियाँ पर्यटकले पनि टीका लगाउने इच्छा व्यक्त गरेका थिए । त्यसपछि स्थानीय सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई भाइटीका लगाइदिनुभएको थियो । नेपाली परम्पराअनुसार टीका र फूलको माला लगाएपछि पर्यटकहरू रमाएका थिए ।

स्थानीय पौडेलका अनुसार पर्यटकले भाइटीकाबारे चासो राखेपछि उनीहरूलाई नेपाली संस्कृतिसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले टीका लगाउने व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, “उहाँहरू बन्दीपुर घुम्न आउनुभएको थियो । नेपालीको भाइटीका पर्वबारे जिज्ञासा राख्नुभयो । त्यसपछि मैले भाइटीकाको महत्त्व र सांस्कृतिक पक्षबारे जानकारी गराएँ । जानकारी पाएपछि उहाँहरूले पनि टीका लगाउने इच्छा देखाउनुभयो । स्थानीय दिदीबहिनीले टीका लगाइदिएपछि उहाँहरू निकै खुसी हुनुभयो ।”

उहाँका अनुसार कुनै पनि देशको भ्रमण गर्दा पर्यटकीयस्थल र प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै त्यहाँको संस्कृति, रहनसहन र परम्पराबारे बुझ्ने अवसर पनि प्राप्त हुन्छ । बन्दीपुर आएका पर्यटकलाई नेपाली चाडपर्वको अनुभव गराउन पाउँदा स्थानीयवासी पनि उत्साहित भएको उहाँले बताउनुभयो ।

भाइटीका लगाएर नेपाली संस्कृतिमा सहभागी हुन पाउँदा चिनियाँ पर्यटकले खुसी व्यक्त गरेका थिए । फरक देशको संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएको उनीहरूको प्रतिक्रिया थियो ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि