सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–२ जयपुरस्थित श्री जनता आधारभूत विद्यालयमा बालविकास शिक्षिका नियुक्तिको विषयलाई लिएर विवाद चुलिएको छ। शिक्षक भर्नाका लागि सार्वजनिक सूचना जारी नगरी प्रक्रिया अघि बढाउन खोजिएको आरोप लागेपछि विद्यालय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको हो।
विद्यालयमा बालविकास शिक्षिकाको कोटा प्राप्त भएपछि प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाबाट योग्य उम्मेदवार छनोट गर्नुपर्नेमा विद्यालय प्रशासनले सूचना सार्वजनिक नगरी सीमित व्यक्तिलाई जानकारी दिएर नियुक्ति प्रक्रिया अघि बढाउन खोजेको स्थानीयको आरोप छ।
स्थानीयले विद्यालयका प्रधानाध्यापक गर्भु महतोले आफूअनुकूल व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले विद्यालय लामो समय बन्द रहने दीपावली तथा छठ पर्वको बिदालाई उपयोग गर्न खोजेको आशंका गरेका छन्। उनीहरूका अनुसार विद्यालयमा सार्वजनिक सूचना टाँस नगरी १५ दिनको म्याद राखेर आवेदन प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो।
यस विषयमा स्थानीय सञ्चारकर्मीले प्रधानाध्यापक महतोसँग जिज्ञासा राख्दा उनले सूचना गोप्य राख्ने उद्देश्य नभएको बताए पनि अहिलेसम्म विद्यालयमा सूचना टाँस नगरिएको स्वीकार गरेका थिए। विद्यालय बन्द हुने समयमै भर्ना प्रक्रिया अघि बढाउन खोजिएको विषयमा भने उनको जवाफप्रति सञ्चारकर्मीहरूले असन्तुष्टि जनाएका छन्।
भर्नाका लागि आवेदन खुलाइएको जानकारी पाएपछि आवेदन दिन विद्यालय पुगेका स्थानीय युवा नागेन्द्र महतो भने आवेदन नै नदिई फर्किएका छन्। आफू आवेदन दिन पुग्दा प्रधानाध्यापकले आवेदन प्रक्रिया सुरु नभएको बताएपछि फर्किनुपरेको उनको भनाइ छ।
यस विषयमा गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादवले शिक्षक भर्ना प्रक्रिया निष्पक्ष, पारदर्शी र निर्धारित मापदण्डअनुसार हुनुपर्ने बताएका छन्। सार्वजनिक सूचना जारी नगरी गरिएको भर्ना प्रक्रिया अवैधानिक हुन सक्ने उल्लेख गर्दै उनले त्यस्तो प्रक्रियालाई मान्यता दिन कठिन हुने बताए। साथै, यस विषयमा प्रधानाध्यापक महतोसँग बुझ्ने उनको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मुखियाले भने भर्नासम्बन्धी सूचना प्रकाशन गर्ने विषयमा छलफल भए पनि सूचना निकालिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। दीपावली तथा छठ पर्व सकिएपछि मात्रै सूचना प्रकाशन गर्नुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले प्रधानाध्यापकले आफूलाई जानकारी नदिई विद्यालयमा विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको आरोपसमेत लगाए।
त्यस्तै, गोडैता नगरपालिका–२ का वडाध्यक्ष अजय साहले पनि आफूलाई शिक्षिका भर्ना प्रक्रियाबारे कुनै जानकारी नभएको बताएका छन्। विद्यालयमा हुने गतिविधिबारे प्रधानाध्यापकले आफूसँग आवश्यक समन्वय नगर्ने गरेको उनको भनाइ छ।
स्थानीयस्तरमा उठेको आशंकाअनुसार १५ दिनको म्याद राखेर विद्यालय बन्द हुनुअघि नै आवेदन प्रक्रिया अघि बढाउने र छठ पर्वपछि विद्यालय खुलेलगत्तै पूर्वनिर्धारित उम्मेदवारलाई नियुक्त गर्ने तयारी गरिएको थियो। यद्यपि, यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
शिक्षक नियुक्ति सार्वजनिक सरोकार र शैक्षिक संस्थाको विश्वसनीयतासँग जोडिएको विषय हो। यस्तो प्रक्रियामा सबै योग्य तथा इच्छुक उम्मेदवारले समान अवसर पाउने गरी सूचना सार्वजनिक गर्नु र निर्धारित मापदण्ड पालना गर्नु आवश्यक हुन्छ।
भर्ना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि नगरपालिकाको शिक्षा शाखाले यस विषयमा कस्तो छानबिन र निर्णय गर्छ भन्ने चासो बढेको छ। साथै, विद्यालय प्रशासनले उठेका प्रश्नको स्पष्ट जवाफ दिँदै भर्ना प्रक्रिया पारदर्शी बनाउँछ वा विवादकै बीच अघि बढाउँछ भन्ने विषय पनि प्रतीक्षाको विषय बनेको छ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।