सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

हङकङका लोकतन्त्र पक्षधर कार्यकर्ताका लागि बेलायतले भिसा मापदण्ड खुकुलो बनायो

हङकङका लोकतन्त्र पक्षधर कार्यकर्ताका लागि बेलायतले भिसा मापदण्ड खुकुलो बनायो

चीनको दमनका कारण हङकङमा लोकतन्त्र पक्षधर प्रदर्शनमा सहभागी भई दोषी ठहरिएका व्यक्तिहरूलाई समेत बेलायतमा बस्न र काम गर्न भिसा उपलब्ध गराउन सकिने बेलायतका गृहमन्त्रीले बताउनुभएको छ ।

गृहमन्त्री सबाना महमुदले सन् २०१९ को प्रदर्शनमा सहभागी भएको अभियोगमा दोषी ठहरिएका तर अन्य सबै भिसा मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई भिसा दिनबाट वञ्चित गर्न नहुने बताउनुभएको हो ।

सन् २०१९ मा हङकङमा भएको लोकतन्त्र पक्षधर प्रदर्शन र त्यसको एक वर्षपछि चीनले कडा राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता बेलायतले हङकङका दुई लाख ३० हजारभन्दा बढी नागरिकलाई भिसा दिएको छ ।

बेलायती सरकारी तथ्याङ्कअनुसार, तीमध्ये करिब एक लाख ७० हजार बेलायत पुगिसकेका छन् ।

बुधबार बेलायती संसद्को मानव अधिकार समितिले सार्वजनिक गरेको पत्राचारमा गृहमन्त्री महमुदको यस्तो धारणा उल्लेख गरिएको छ ।

हङकङका एक प्रमुख लोकतन्त्र पक्षधर कार्यकर्ता बेलायत पुग्दा उहाँलाई केही घण्टा नियन्त्रणमा राखिएको घटनापछि समितिले यस विषयमा चासो व्यक्त गरेको थियो । ती कार्यकर्ताका परिवार अहिले बेलायतमा बस्दै आएका छन् ।

राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहरिएका वु ची–वाईले हङकङको जेलमा पाँच वर्ष बिताएपछि गत जुनमा रिहा हुनुभएको थियो ।

समितिका अध्यक्ष तथा सांसद एलेक्स कोबेलले उक्त घटनाबारे गृहमन्त्री महमुदलाई पत्र लेखेपछि उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

कोबेलका अनुसार, सुरुमा वु ची–वाईलाई बेलायत प्रवेश गर्न अनुमति दिइएको थिएन । पछि भने उहाँलाई बेलायतमा छ महिनासम्म बस्न पाउने अनुमति प्रदान गरिएको थियो ।

कोबेलले पत्रमा वु ची–वाईको घटनाले राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहरिनु अझै पनि बेलायत प्रवेश गर्न वा त्यहाँ बस्न अनुमति पाउन बाधक बन्न सक्ने देखाएको उल्लेख गर्नुभएको छ ।

बेलायतस्थित पैरवी समूह ‘हङकङ वाच’ले गृहमन्त्री महमुदको भनाइको स्वागत गरेको छ ।

समूहले सामाजिक सञ्जाल ‘एक्स’ मा उक्त निर्णयको स्वागत गर्दै यससम्बन्धी औपचारिक प्रक्रिया स्थापना गर्न बेलायती गृह मन्त्रालयसँग सहकार्य जारी राख्ने जनाएको छ ।

सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई हस्तान्तरण हुनुअघि जन्मिएका व्यक्तिहरूले ‘ब्रिटिस नेसनल ओभरसिज’ (बीएनओ) राहदानी प्राप्त गर्न सक्छन् । उक्त राहदानीवाहकले बेलायतको भिसाका लागि आवेदन दिन पाउँछन् । यसअन्तर्गत उनीहरूलाई बेलायतमा पाँच वर्षसम्म बस्न र काम गर्न तथा त्यसपछि बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने सुविधा छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि