सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता

एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई  सहयोग गर्ने  मेगास्पिडको प्रतिबद्धता

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको विवादको केन्द्रमा रहेको सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनी ‘मेगास्पिड’ले अमेरिकी राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

एनभिडियाका सीईओ हुआङले चीनकी एक महिलासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेपछि मेगास्पिड इन्टरनेसनलले बिहीबार पहिलो पटक यस विषयमा सार्वजनिक धारणा व्यक्त गरेको हो । ती महिला कम्पनीकी पूर्व उच्च अधिकारी हुनुहुन्छ । मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुन पालना गर्ने आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

कम्पनीका अध्यक्ष तथा सीईओ टान योङ पोङ (जेम्स टान) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मेगास्पिड अमेरिकी सरकारसँग रचनात्मक र पारदर्शी ढङ्गले सहकार्य गर्न प्रतिबद्ध छ ।”

यसैबीच, एनभिडियाको सञ्चालक समितिले हुआङसँग जोडिएको विवादबारे छलफल गर्न बैठक बोलाएको समाचार सार्वजनिक भए पनि बिहीबार बिहानसम्म त्यसको निष्कर्षबारे कुनै जानकारी दिइएको छैन ।

मेगास्पिडले राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनामा असर परेको निष्कर्ष निकाल्नुपर्ने कुनै आधार नरहेको जनाएको छ । यद्यपि, कम्पनीले आफ्नै आन्तरिक छानबिनमार्फत उपलब्ध सबै सूचनाको परीक्षण गर्ने बताएको छ ।

हुआङ र ती महिलाबीचको सम्बन्धबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । ‘द न्युयोर्क टाइम्स’ का अनुसार, ती महिला एलिस हुआङ हुनुहुन्छ । उहाँ मेगास्पिडमा उच्च पदमा कार्यरत हुनुहुन्थ्यो । मेगास्पिडले आफ्नो वेबसाइटमा एनभिडियासँगको साझेदारीलाई प्रमुखताका साथ उल्लेख गरेको छ ।

गत महिना ‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी गुप्तचर निकायहरूले एनभिडियाका सीईओ हुआङ र एलिस हुआङबीच घनिष्ठ सम्बन्ध रहेको पत्ता लगाएको तथा ती महिलाले बेइजिङलाई प्रत्यक्ष रूपमा सूचना उपलब्ध गराइरहेको निष्कर्ष निकालेको समाचार प्रकाशित गरेको थियो । त्यसपछि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताउनुभएको थियो ।

गत वर्ष मेगास्पिडमाथि एनभिडियाका अत्याधुनिक कम्प्युटर चिप अवैध रूपमा चीन पठाएको आरोप लागेको थियो । तर, गत डिसेम्बरमा कम्पनीले त्यस्तो निर्यात भएको कुनै प्रमाण नरहेको जनाएको थियो । सिङ्गापुरले पनि उक्त आरोपबारे अनुसन्धान गरिरहेको बताएको छ ।

चीनले भने हुआङलाई फसाउने प्रयास गरेको भन्ने आरोप अस्वीकार गरेको छ । विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सञ्चालनका लागि आवश्यक चिप उत्पादन गर्ने अग्रणी कम्पनी हो । पछिल्ला वर्षहरूमा चीनमा एनभिडियाका चिप बिक्रीमा लगाइएका प्रतिबन्ध खुकुलो पार्न हुआङले अमेरिकी सरकारसमक्ष पैरवी गर्दै आउनुभएको छ । गत जनवरीमा उहाँले आफ्नो एच२०० चिप चीनमा बिक्री गर्न राष्ट्रपति ट्रम्पबाट अनुमति पाउनुभएको थियो ।

बिहीबार जारी विज्ञप्तिमा मेगास्पिडले अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको उद्योग तथा सुरक्षा ब्युरो (बीआईएस) सँग सहकार्य गरिरहेको जनाएको छ । उक्त निकायले प्रविधिको निर्यातमा राष्ट्रिय सुरक्षा प्रतिबन्ध कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्छ । कम्पनीले अन्य सम्बन्धित अमेरिकी सरकारी निकायसँग पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले आफ्ना कम्प्युटर चिपको विस्तृत सूची तयार पार्न र निर्यात नियन्त्रणसम्बन्धी कानुनी प्रावधानको पालना भए–नभएको परीक्षण गर्न अमेरिकी कानुन फर्म नियुक्त गरेको जनाएको छ ।

मेगास्पिडले सरकारी निकायबाट हुने उचित निगरानीलाई स्वागत गर्दै जिम्मेवार, पारदर्शी र प्रचलित अमेरिकी कानुनअनुसार सञ्चालन भइरहेको प्रमाणित गर्न ठोस कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि