अन्ताल्या (टर्किए), २७ कात्तिकः औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्य विस्तार गर्न आवश्यक नीति, वित्त, प्रविधि र संस्थागत क्षमताबारे संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा औद्योगिक क्षेत्रमा हरितगृह ग्यास उत्सर्जन घटाउन पहिचान गरिएका अवसर, चुनौती र अवरोधबारे चर्चा गरिएको छ ।
प्रतिवेदनमा सन् २०२६ को अप्रिलमा दक्षिण कोरियाको योसु र सेप्टेम्बरमा अस्ट्रेलियाको सिड्नीमा आयोजित सातौँ तथा आठौँ विश्वव्यापी संवाद र लगानीकेन्द्रित कार्यक्रमका निष्कर्ष समेटिएका छन् । ती कार्यक्रममा आयोजित ‘पिच हब’ सत्रका निष्कर्ष पनि प्रतिवेदनमा समावेश छन् ।
दुवै संवादमा औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणका महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न र तिनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक उपायबारे छलफल भएको थियो। आठौँ संवादमा औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तारसँग सम्बन्धित साझा विषयमा समेत विचारविमर्श गरिएको थियो ।
छलफलमा औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन घटाउने उपाय, तिनको कार्यान्वयनका लागि अनुकूल वातावरण निर्माण तथा लगानी परिचालनका अवसर र चुनौतीबारे अध्ययन गरिएको थियो ।
कार्बन उत्सर्जन घटाउने विविध उपाय
वर्षभरि भएका छलफलले विभिन्न औद्योगिक क्षेत्र र देशको अवस्थाअनुसार कार्बन उत्सर्जन घटाउने उपाय फरक हुन सक्ने देखाएका छन् ।
प्रतिवेदनले औद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न प्रविधिगत समाधान मात्र पर्याप्त नहुने औँल्याएको छ । यसका लागि सहयोगी नीति, वित्तीय स्रोतमा पहुँच, आवश्यक पूर्वाधार र संस्थागत क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ ।
राष्ट्रिय अवस्था, प्रविधिको तयारी, स्रोतसाधनको उपलब्धता र विद्यमान औद्योगिक संरचनाका आधारमा चरणबद्ध रूपमा विभिन्न प्रविधि तथा उपाय अवलम्बन गर्न सकिने विषय छलफलमा उठाइएको थियो ।
निकट भविष्यमै कार्यान्वयन गर्न सकिने उपायमा ऊर्जा दक्षता अभिवृद्धि, औद्योगिक प्रक्रियाको विद्युतीकरण, नवीकरणीय ऊर्जाको प्रयोग, इन्धन तथा कच्चा पदार्थको विकल्प परिवर्तन र वैकल्पिक सामग्रीको उपयोग रहेका छन् ।
त्यस्तै, कार्बन उत्सर्जन घटाउन कठिन हुने औद्योगिक क्षेत्रमा मध्यम तथा दीर्घकालीन रूपमा कार्बन सङ्कलन, उपयोग तथा भण्डारण (सीसीयूएस) र हरित हाइड्रोजनको प्रयोग महत्त्वपूर्ण हुने सहभागीहरूले बताएका थिए ।
औद्योगिक क्षेत्रको रूपान्तरणका लागि प्राविधिक नवप्रवर्तनसँगै आवश्यक पूर्वाधार, सहयोगी नीति तथा नियामक व्यवस्था, संस्थागत समन्वय र न्यून कार्बन उत्सर्जन भएका औद्योगिक उत्पादनको माग सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
प्रतिवेदनले साना तथा परीक्षण परियोजनाबाट अघि बढेर औद्योगिक क्षेत्रमा जलवायुमैत्री प्रविधि तथा उपायलाई ठूलो स्तरमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ ।
औद्योगिक रूपान्तरणलाई व्यापक आर्थिक तथा विकासका प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्ने विषय पनि छलफलमा उठेको थियो । औद्योगिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, आर्थिक विविधीकरण, ऊर्जा सुरक्षा, रोजगारी सिर्जना र नयाँ मूल्य शृङ्खलाको विकासलाई यससँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो ।
यद्यपि, प्रत्येक देशको राष्ट्रिय परिस्थिति, विकासका प्राथमिकता र विद्यमान औद्योगिक सम्पत्तिका आधारमा कार्बन उत्सर्जन न्यूनीकरणको मार्ग फरक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
वित्त परिचालन र कार्यान्वयनमा सहयोग
विश्वव्यापी संवादसँगै आयोजना गरिएका दुई लगानीकेन्द्रित कार्यक्रमले औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणका उपाय कार्यान्वयन गर्न आवश्यक लगानीका पक्षमा विशेष ध्यान दिएका थिए ।
कार्यक्रममा न्यूनीकरणसम्बन्धी समाधानलाई परियोजनाको अवधारणाबाट वास्तविक कार्यान्वयनसम्म पुर्याउन आवश्यक वित्तीय, नीतिगत तथा संस्थागत संरचनाबारे छलफल भएको थियो । साथै, व्यक्तिगत परियोजनामा सीमित नरही ठूलो स्तरमा कार्यान्वयन गर्न सकिने उपायको खोजी गरिएको थियो ।
दुवै कार्यक्रममा आयोजित ‘पिच हब’ सत्रले परियोजना प्रस्तावकलाई आफ्ना ठोस परियोजना प्रस्तुत गर्ने र वित्तीय परामर्शदातासँग छलफल गरी परियोजनालाई लगानीयोग्य बनाउन आवश्यक सुझाव प्राप्त गर्ने अवसर प्रदान गरेको थियो ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।