दमौली (तनहुँ), २७ कात्तिकः तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।
पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ । पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो ।
पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ । विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ ।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ । हालसम्म रु १५ लाखभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो । झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीयवासी तथा बन्दीपुर भ्रमणमा आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ ।
पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरेका छन् । यसैक्रममा निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ ।
तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय अगुवा बासु पन्तले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण कार्य भइरहेको छ । श्रमदान र आर्थिक सहयोग जुटाएर पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ । सामूहिक प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थपिने विश्वास गरिएको उहाँले बताउनुभयो ।
प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी थप पूर्वाधार निर्माण गर्ने क्रममा पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन लागिएको हो ।
पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ्ख्यामा यात्रु तथा पर्यटक पोखरा र काठमाडौँ आवतजावत गर्छन् । राजमार्ग नजिकै आकर्षक संरचना निर्माण भएमा यात्रुलाई केही समय रोकिएर अवलोकन गर्न र तस्बिर खिच्न आकर्षित गर्न सकिने स्थानीयको अपेक्षा छ । पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई थप विस्तार गर्ने विश्वास पन्तले व्यक्त गर्नुभयो ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।