इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा उक्त आक्रमण सिरिकमा रहेको दूरसञ्चार टावरमाथि भएको शत्रुको हवाई आक्रमणको जवाफमा गरिएको उल्लेख छ ।
गाड्र्सका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले केही घण्टाअघि बहराइनमा रहेको अमेरिकी राडार प्रणालीमाथि आक्रमण गरेको हो । विज्ञप्तिमा यसलाई हर्मुज जलघाँटीमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल तस्करी रोक्न दिइएको चेतावनीका रूपमा व्याख्या गरिएको छ । तर बहराइनको राजधानी मनामा वा अमेरिकाले उक्त आक्रमणबारे तत्काल कुनै पुष्टि गरेका छैनन् ।
इरानसँग आठ महिनादेखि जारी युद्धका क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र उपकरणहरू पटकपटक निशानामा पर्दै आएका छन् । यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गर्मीयामदेखि हर्मुज जलघाँटी हुँदै खाडी मुलुकहरूबाट १५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसपछि खाडी मुलुकहरूले इरानको प्रतिशोधको सामना गर्नुपरेको छ । इरानले हर्मुज जलघाँटी हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै अमेरिका समर्थित मुलुकका विमानस्थल, बन्दरगाह, ऊर्जा केन्द्र, महत्त्वपूर्ण संरचना र अमेरिकी सम्पत्तिमाथि आक्रमण गरेको थियो ।
युद्ध सुरु भएलगत्तै अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो । त्यसपछि अगस्टमा वासिङ्टनले इरानको व्यापार र वित्तीय कारोबार ठप्प पार्ने उद्देश्यले आर्थिक दबाब बढाउने अभियान घोषणा गरेको थियो ।
इरानविरुद्धको युद्धप्रति अमेरिकाभित्र बढ्दो असन्तुष्टि र हालैको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले भोगेको पराजयपछि वासिङ्टनले थप आक्रमण गर्ने धम्कीबाट पछि हटेको देखिएको छ ।





प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।