जनकपुरधाम । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
असोज ३० गते मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
त्यसैगरी, दुर्घटनामा घाइते भएकाहरूको उपचार मधेश प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालहरूमा निःशुल्क गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेश प्रदेशसभाको बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोलि प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि सरकारको राजनीतिक भविष्यलाई लिएर चासो बढिरहेका बेला मुख्यमन्त्री यादव विश्वासको मत लिने तयारीमा जुटेका हुन्।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।