अघिल्लो वर्ष फाइनलमा भोगेको नमीठो पराजयको बदला लिने अवसर सुदूरपश्चिम रोयल्सले गुमाएको छ । एनपीएल सिजन ३ को पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग सुदूरपश्चिमले लज्जास्पद पराजय बेहोरेको हो ।
अघिल्ला दुई सिजनजस्तै यसपटक पनि सुदूरपश्चिम एनपीएल उपाधिको दाबेदार टोली हो । तर, पहिलो खेलमा उसले स्वाभाविक क्रिकेट पनि नखेली समर्थकलाई निराश पारेको छ । फ्लडलाइटमा खेलिएको पहिलो खेलमा सुदूरपश्चिमले ब्याटिङ र बलिङमा सामान्य दबाब पनि सिर्जना गर्न सकेन । जसको नतिजास्वरूप लुम्बिनी ६१ बल बाँकी हुँदै सात विकेटले सहज जित हात पार्न सफल भयो ।
विदेशमा केही फ्लडलाइटमा खेले पनि नेपाली क्रिकेटरले स्वदेशमा यस्तो खेलको अनुभव कम छ । रातिको खेलमा सामान्यतया शीतको असरले पनि खेलको नतिजालाई फरक पार्छ । बढी शीत पर्ने हुँदा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने गर्छन् । लुम्बिनीले पनि एनपीएलको उद्घाटन खेलमा त्यही गर्यो ।
दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुने मनोविज्ञानले लुम्बिनीले सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्यायो । सुरुवाती तीन ओभरमा सुदूरपश्चिमले स्वाभाविक क्रिकेट खेल्दै २४ रन बनायो । विनोद भण्डारीले पहिलो ओभरमा एक चौका प्रहार गरे । सेभ जैबले पनि चौका प्रहार गरे । तेस्रो ओभरमा विनोद भण्डारी र जैब दुवैले एक–एक चौका प्रहार गर्दा सुदूरपश्चिमले राम्रो सुरुआत गरेको थियो ।
पहिलो ब्याटिङको दबाबले गर्दा सुदूरपश्चिमले सुरुदेखि नै दबाबमा खेल्दा एकपछि अर्को विकेट गुमाउन पुग्यो । तर, चौथो ओभरको पहिलो बलमै शेर मल्लले सुदूरपश्चिमका भण्डारीलाई एलबीडब्ल्यू धरापमा पारे ।
पहिलो विकेट गुमाएपछि सुदूरपश्चिम सम्हालिनुपर्थ्यो । तर, पाँचौँ ओभरको दोस्रो बलमा आरिफ शेखलाई किशोर महतोले शून्य रनमा आउट गरे । चौथो बलमा किशोरले नै दुई बल खेलेर दुई रन बनाएका ब्रान्डन म्याकमुलेनलाई आउट गरे । एकै ओभरका यी दुई विकेटले लुम्बिनी हौसिन पुग्यो । सुदूरपश्चिम दबाबमा आयो ।
छैटौँ ओभरको पावरप्ले नसकिँदै सेभ जैब पनि १३ रनमा आउट भएपछि सुदूरपश्चिम ठूलो दबाबमा पर्यो । सातौँ र आठौँ ओभरमा सुदूरपश्चिमले बाउन्ड्री प्रहार गर्न सकेन । ८.२ ओभरमा ईशान पाण्डे पनि नौ बलमा सात रन बनाएर आउट भए ।
१०औँ ओभरमा शेर मल्लले शेरफेन रदरफोर्डलाई पनि एक रनमै पभेलियन पठाइदिए । एनपीएलमा निकै चर्चा गरिएका रदरफोर्ड पनि निष्प्रभावी बनेपछि सुदूरपश्चिम थप दबाबमा आयो ।
चौथो बलमा स्कट कुग्गेलाइन पनि शेरको बलमा एलबीडब्ल्यू धरापमा परे। पाँचौँ र १०औँ ओभरका यी दुई–दुई गरी चार विकेटले खेललाई सहजै लुम्बिनीको पक्षमा पारिदियो । मुख्य चार ब्याटर आउट भएपछि सुदूरपश्चिमलाई खेलमा फर्किने अवसर नै भएन ।
निरन्तर विकेट गएपछि कप्तान दीपेन्द्रसिंह ऐरीले इनिङ्स अगाडि बढाउन नखोजेका होइनन् । तर उनले कुनै पनि ब्याटरको साथ पाएनन्। टी–२० जस्तो खेलमा सुदूरपश्चिमले बाउन्ड्री निकाल्न ४२ बल कुर्नुपर्यो। १३औँ ओभरको पहिलो बलमा ऐरीले लामो समयपछि चौका हाने । तर, पाँचौँ, १०औँपछि १३औँ ओभर पनि सुदूरपश्चिमका लागि दुःखद् हुन पुग्यो ।
ऐरी २३ बलमा २७ रन बनाएर आउट भए। लगत्तैको बलमा किशोर महतोले हेमन्त धामीलाई पनि आउट गरिदिए। यसरी १३ ओभरको समाप्तिमा ७२ रन हुँदा नौ विकेट गुमेपछि सुदूरपश्चिम खेलमा फर्किन पाएन । डीआरएसको फाइदा उठाउँदै रिभ्यु लिएरसमेत लुम्बिनीले विकेट हात पार्यो। पुछारमा अनिल खरेल र अविनाश बोहोराले केहीबेर टिक्ने संकेत गरे पनि सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट हुन पुग्यो ।
यसरी तीव्र गतिका बलर किशोर महतोका पाँचौँ र १३औँ ओभरका दुई–दुई विकेट तथा दाहिने हाते अफब्रेक बलर शेर मल्लका १०औँ ओभरका दुई विकेट नै खेलमा लुम्बिनीलाई हाबी गराउने मुख्य टर्निङ प्वाइन्ट बन्न पुगे ।
तीन ओभरमा मुख्य छ विकेट गुमाएपछि सुदूरपश्चिमको पूरै लय गुम्न पुग्यो । खेलमा लुम्बिनीका लागि किशोर महतोले चार, शेर मल्लले तीन तथा तिलक भण्डारी, रोहित पौडेल र शाड्ली भान शाल्कवाइकले एक–एक विकेट लिए ।
ऐरीको २७, अनिल खरेलको अविजित १५ र सेभ जैबको १३ रन मात्र दोहोरो अंकमा पुगे ।
लुम्बिनीको दबाबरहित जित
जम्मा ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै दबाबमा परेन । पहिलो बलमै डार्सी सर्टको छक्काबाट सुरु भएको रन पछ्याउने क्रम सानदार ढंगले अघि बढ्यो ।
पाँच ओभरमा ५२ रन बनाएको लुम्बिनी छैटौँ ओभरभित्रै बिना विकेट ७० रनको स्थितिमा पुगिसकेको थियो । सुरुदेखि नै आक्रामक ब्याटिङ गरेर लुम्बिनीले पिचमा समस्या नरहेको सन्देश दियो । सर्टले छैटौँ ओभरमा दुई छक्का र एक चौका प्रहार गरेपछि लुम्बिनीलाई जितसम्म पुग्न समय लागेन। छिटो लक्ष्य पछ्याउने धुनमा सर्ट सातौँ ओभरको दोस्रो बलमा क्याचआउट हुन पुगे ।
उनले १८ बलमा आक्रामक ४० रन बनाए। नवौँ ओभरमा २५ बलमा ३२ रन बनाएका आशिफ शेख पनि आउट हुन पुगे। १०औँ ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीले निरोशन डिकवेलाको विकेट लिए । तर, विकेटले कुनै दबाब सिर्जना गर्ने स्थिति थिएन ।
१०औँ ओभरको पाँचौँ बलमा लुम्बिनीका कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गर्दै टोलीलाई उद्घाटन खेलमा महत्त्वपूर्ण जित दिलाए। यससँगै डिफेन्डिङ च्याम्पियन लुम्बिनीले दुई अंक हात पार्यो । अझै ६१ बल अगावै जित हासिल गरेकाले ४.५९९९ को रनरेटसहित आफूलाई माथि राख्न सफल भयो। तीन विकेट लिएर कसिलो बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिएका शेर मल्ल प्लेयर अफ द म्याच घोषित भए।
अरू टोलीले विदेशका नाम चलेका खेलाडीलाई टिममा समेटेका थिए। तर लुम्बिनी यसपटक ठूला नामको पछाडि दौडेको छैन । नेपाली टिममै राम्रो गरिरहेका आशिफ शेख, शेर मल्ल र किशोर महतोलाई लुम्बिनीले यसपटक टिममा समेटेको हो ।
पहिलो खेलमै नमीठो पराजय बेहोरेपछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङमै मुख्य कमजोरी रहेको बताए । विकेट गएपछि सम्हालिनुको सट्टा रन बढाउने नाममा विकेट गुमेको र साझेदारी हुन नसकेको उनीहरूको भनाइ छ । जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले आफूहरूले स्वाभाविक क्रिकेट खेलेको प्रतिक्रिया दिए। विपक्षीलाई नहेरी एक टिमका रूपमा केन्द्रित भएर क्रिकेट खेलेको उनको भनाइ छ।
एनपीएल सिजन २ को उपाधि पनि सुदूरपश्चिमले लुम्बिनीसँगै गुमाएको थियो। जम्मा ८६ रनको लक्ष्य दिँदा सुदूरपश्चिमले लगातार दोस्रोपटक उपाधि गुमाएको थियो। पहिलोपटक जनकपुरलाई १८५ रनको लक्ष्य दिए पनि सुदूरपश्चिमले त्यसलाई बचाउन सकेको थिएन ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।