म्याग्दी, २६ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ ।
आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को आज गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।
विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत पठनपाठन, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विपन्न, भौगोलिक रूपमा विकट तथा पहुँचबाहिरका स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि बढाउने लक्ष्य राखिएको छ । प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर सुधार गरी अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजानुपर्ने बाध्यता कम गर्नु पनि महायज्ञको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
महायज्ञबाट रु तीन करोड सङ्कलन र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो । महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको उहाँले जानकारी दिनुभयो । प्रवास तथा देशका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
महायज्ञमा भागवत पाठ–पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती र झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयमा विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख शैक्षिक चुनौती बनेको उल्लेख गर्दै दीपशिखा माविले अघि सारेको स्मार्ट तथा आवासीय विद्यालयको अवधारणा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयको अभियानलाई प्रदेश तहबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महायज्ञ सुरु हुनुअघि कुहुँदेखि टोड्के हुँदै पूर्णगाउँ भएर पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।