सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

विकास

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोक, २७ कात्तिकः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो । विशेषगरी विद्यालय जाने विद्यार्थी बढी प्रभावित हुने गरेका थिए ।

“यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी मात्र नभई विभिन्न स्थानबाट आउने मानिसलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।”

पुल नहुँदा बजार जानसमेत लामो र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिले डेढ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा पुल बनेपछि आवतजावत सहज भएको छ । पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउनुका साथै दुई पालिकाबीचको सम्पर्कसमेत बलियो बनाएको छ ।

प्राकृतिक तथा ग्रामीण सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि पुलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताउनुभयो । उहाँले पुल निर्माणले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन र पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि