पोखरा एभेन्जर्सको नाम सुन्दा मार्भल फिल्मका शक्तिशाली सुपरहिरोहरूको टोलीको सम्झना आउँछ । यसपालि शाकिब अल हसन, चामिका करुणारत्ने, शेख मेहदी हसन र सदिरा समरविक्रमाजस्ता विदेशी खेलाडी पनि त्यही शैलीमा जम्मा गरिएका छन् ।
टोलीको नेतृत्व नेपाली क्रिकेटका आक्रामक ब्याटर कुशल भुर्तेलले गरिरहेका छन् । तर, तीन खेल सकिँदा पोखराका ‘एभेन्जर्स’ विपक्षीसँग बदला लिन होइन, प्रतियोगितामा आफ्नै अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् । तीनवटै खेल हारेको पोखरा शून्य अंक र माइनस १.७७० को नेट रनरेटसहित अंकतालिकाको पुछारमा छ ।
जारी एनपीएलमा अहिलेसम्म जित निकाल्न नसकेको टोलीको सूची बनाउने हो भने पोखरा ‘वान एन्ड वन्ली’, छ । कम रनरेट भएको टिममा पनि टपमै छ ।
यो टिमले एनपीएलको पहिलो सिजनमा सातमध्ये दुई खेल मात्रै जित्न सकेको थियो । त्यो बेला ऊ सातौँ स्थानमा रोकिएको थियो । दोस्रो सिजनमा तीन खेल जितेर पाँचौँ स्थानसम्म उक्लियो, तर शीर्ष चारमा पर्न सकेन । अघिल्ला दुवै संस्करण जोड्दा पोखरा प्लेअफ पुग्न नसकेको एनपीएलको एक्लो अभागी टोली हो ।
पोखराबाहेकका सात टोली प्लेअफमा पुगिसकेका छन् । पोखराका लागि भने तेस्रो संस्करणको प्लेअफ पनि असम्भव जस्तो बन्दै छ । यही इतिहास बदल्न यसपालि शाकिबसहित चर्चित विदेशी खेलाडी ल्याइएका छन् । तर, लगातार तीन हारले प्लेअफको पुरानो घाउ निको पार्नुको सट्टा झन् गहिरो बनाइदिएको छ ।
तीन खेल हेर्दा…
यसपालि पहिलो खेलमा पोखराले सुदूरपश्चिम रोयल्सविरुद्ध १४५ रन बनाएको थियो । यो जित्नै नसकिने स्कोर थिएन, बरु जोगाउन सकिने लक्ष्य थियो । तर, पोखराको बलिङले दबाब सिर्जना गर्नै सकेन । दीपेन्द्रसिंह ऐरीले नटआउट ५१ रन बनाएपछि सुदूरपश्चिमले १९ बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो । पोखरा हार्यो ।
जनकपुर बोल्ट्सविरुद्ध दोस्रो खेल पोखराले जित्नै नसक्ने खालको थिएन । जनकपुरले पूरै २० ओभर खेलेर १४७ रन बनाएको थियो । कुशल भुर्तेलले २४ बलमा ३५ रन बनाउँदै आधार तयार गरेका पनि थिए । तर, उनी आउट भएपछि मध्यक्रमले इनिङ्स सम्हाल्न सकेन । पोखरा १३८ रनमा रोकियो । पोखरा फेरि नौ रनले हार्यो । त्यो खेलमा शाकिबले बलिङबाट १५ रन खर्चेर तीन विकेट लिए, तर ब्याटिङमा उनी चल्न सकेनन् । उनले जम्मा नौ रन बनाए ।
तेस्रो खेलसम्म आइपुग्दा पोखराको आत्मविश्वास झन् खस्केको देखियो । ऊ डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सविरुद्ध खेल्दै थियो । तर, पूरै २० ओभर खेलेर नौ विकेट गुमाउँदै उसले जम्मा ९७ रनको लक्ष्य दियो । चामिका करुणारत्नेले बनाएको २५ रन नै टोलीको सबैभन्दा ठूलो स्कोर थियो भनेपछि अरु ब्याट्सम्यानको हालत त्यो म्याचमा के थियो भनेर धेरै भन्नै परेन । लुम्बिनीले ९८ रनको लक्ष्य ११ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गरिदियो । पोखरा पराजित मात्रै भएन, उसको नेट रनरेटमा पनि ठूलो चोट लाग्यो ।
तीन खेलका स्कोर पहिलोमा १४५, दोस्रोमा १३८ र अनि तेस्रोमा ९७ ।
पोखराको ब्याटिङ सुध्रिनुको सट्टा हरेक खेलसँगै ओरालो लागेको देखिन्छ । तीन खेलमा कुनै ब्याटरले अर्धशतक बनाउन सकेका छैनन् । टोलीको सर्वाधिक व्यक्तिगत स्कोर अर्जुन घर्तीको नटआउट ४० रन हो । कप्तान कुशलले २१, ३५ र १४ रन बनाएका छन् । हरेक खेलमा उनैले सुरुवात गरेका छन्, तैपनि त्यो अवसरलाई ठूलो इनिङ्समा बदल्न सकेका छैनन् ।
सबैभन्दा ठूलो अपेक्षा राखिएका शाकिबले तीन खेलमध्ये पहिलोमा १४, दोस्रोमा नौ र तेस्रोमा तीन रन मात्रै जोडेका छन् । बलिङमा जनकपुरविरुद्ध उत्कृष्ट देखिए पनि पोखराले उनलाई ल्याउनुको उद्देश्य चार ओभर बलिङ मात्रै थिएन । मध्यक्रममा इनिङ्स सम्हाल्ने र निर्णायक रन बनाउने जिम्मेवारी पनि उनीमाथि थियो । अहिलेसम्म त्यो पक्ष देखिएको छैन ।
पोखराको समस्या खेलाडीको नाममा होइन, भूमिकाको स्पष्टतामा देखिन्छ । कप्तान कुशलले जनकपुरविरुद्धको हारपछि टोलीमा अझै सन्तुलन मिलाउनुपर्ने कुरा गरेका थिए । जम्मा सात म्याच खेल्न पाइने समूह चरणमा तीन खेल सकिँदासम्म आफ्नो उत्कृष्ट प्लेइङ-११ नै पत्ता नलाग्नु सामान्य समस्या होइन ।
यही रिजल्टपछि सोसल मिडियामा कतिपयले पोखराको मजाक उडाउन थालिसकेका छन् । कसैले टोलीको अवस्थालाई मार्भल फिल्मसँग जोडेर ‘एभेन्जर्स : इन्डगेम’ भनिरहेका छन् । कतै सुपरहिरो जम्मा भए पनि मैदानमा ‘पावर’ नदेखिएको टिप्पणी छ । एउटा पोस्टमा त पोखराले क्रिकेटभन्दा मालिकको पैसा र समर्थकको भावनासँग खेलिरहेको व्यङ्ग्यसमेत गरिएको छ । कतिपय खेलाडीमाथि पनि ट्रोल भइरहेको छ । यस्ता टिप्पणी आक्रोशपूर्ण भए पनि यसले लगातार तीन हारपछि समर्थकमा बढेको निराशा देखाउँछ ।
पोखरापछाडिको नाम एभेन्जर्स छ । यसको अर्थ आफैँमा बदला लिने योद्धाहरू भन्ने हुन्छ । तर, एनपीएलमा कुनै खेलमा पोखरा बदला लिन सकिरहेको छैन । जित्न नसक्दा पोखरा एभेन्जर्सको नाममाथि नै कतिपयले मजाक गर्न थालेका छन् ।
पोखरा प्रतियोगिताबाट बाहिरिइसकेको छैन । उसले अझै चार म्याच खेल्न बाँकी छन् । बाँकी चारै खेल जितेर, आठ अंक जोडेर प्लेअफको ढोका खोल्ने अवसर अझै बाँकी छ । तर, तीन खेल मात्रै जित्न सक्यो भने पनि ऊसँग ६ अंक हुनेछ । यसपछि अरु टोलीको नतिजा र नेट रनरेटकै भरमा भए पनि प्लेअफमा जाने सम्भावना हुन्छ ।
पोखराको चौथो खेल शुक्रबार चितवन राइनोजसँग छ । अब उसले प्लेइङ-११ को प्रयोगभन्दा सही संयोजनमा विश्वास गर्नुपर्ने हुन्छ । कुशलले पाएको सुरुवातलाई ठूलो इनिङ्समा बदल्नुपर्नेछ भने शाकिबसहित मध्यक्रमका ब्याटरले कम्तीमा एउटा बलियो पार्टनरसिप बनाउनैपर्छ । बलिङले पनि लक्ष्य जोगाउने हो भने सुरुवाती विकेट निकाल्न आवश्यक छ ।
चार खेल बाँकी रहेकाले पोखराको सम्भावना सकिएको छैन, तर अब सुधारको प्लान मात्रै गरेर पुग्दैन । चितवनविरुद्ध मैदानमै देखाउनुपर्छ । त्यसैले अब पोखरालाई विदेशी खेलाडीको ठूलो नामभन्दा एउटा ठूलो पार्टनरसिप चाहिएको छ । कुशलको सुरुवातलाई अर्धशतकमा, शाकिबको प्रतिष्ठालाई रनमा र बलिङका अवसरलाई विकेटमा बदल्न सक्नुपर्यो । नत्र एभेन्जर्सको ‘कमब्याक’ पर्खंदापर्खंदै एनपीएल नै सकिन सक्छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।