सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौंको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्छ ।

चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ ।

यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली हो । अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भए पनि हाँडीगाउँको जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ ।

बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अरूभन्दा फरक देखिन्छ ।

माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु (नारायण)को र तल्लो कोटाल टोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ । तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागिता रहने गरेको छ ।

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो । खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुन्छन् ।

प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन् । नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ ।

तस्वीर : सूर्यांश उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि