सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

चितवनद्वारा पोखरासामु १५२ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा पोखरासामु १५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २० कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५१ रन बनायो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रनको योगदान दिए ।

बलिङतर्फ पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान दुई–दुई विकेट लिए ।

जारी प्रतियोगितामा पोखरा जितविहीन छ । तीन खेल खेलेको पोखराले तीनै खेलमा पराजय भोगेको छ । कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

यता चितवन पनि पोखरालाई हराएर अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न चाहन्छ । चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि